Sajhamanch Archive

काठमाडौँ–तराई/मधेस द्रुत मार्गमा निमार्ण हुने सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौँ, निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल ९हाई ब्रिज०को डिजाइन स्वीकृत भएको छ ।

द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग तथा पुलको डिजाइन कार्य सम्पन्न भई स्वीकृत भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको छ ।

सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालका अनुसार सुरुङ मार्ग तथा हाई ब्रिजको डिजाइन स्वीकृत भएसँगै निर्माण कम्पनीहरूले सर्भेको कामसमेत सुरु गरिसकेका छन् ।

दुई महिनाभित्र सर्भे सकेर निर्माण थालिनेछ । द्रुत मार्गमा पर्ने कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाई ब्रिज दुई प्याकेजमा निर्माण गरिँदै छ ।

पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग निर्माण गरिने महादेव डाँडा खण्डमा निर्माण गरिँदै छ । यस खण्डमा निर्माण गरिने सुरुङमार्ग र हाई ब्रिजको कुल लम्बाइ ३.३०० किलोमिटर छ ।

त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङ मार्ग र हाई ब्रिज निर्माण गरिँदै छ । यस प्याकेजअन्तर्गत कुल १.४०० किलोमिटर सुरुङ मार्ग र हाई ब्रिज निर्माण गरिनेछ ।

पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः करिब २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ रहेको छ । द्रुत मार्ग निर्माणको कुल लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुई चरणमा निर्माण गरिने सुरुङ तथा मोटरेबल पुल निर्माणका लागि गत वैशाख ३१ गते नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो ।

ती कम्पनीले असारदेखि डिजाइनको काम सुरु गरेको थियो । सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो ।

सम्झौताअनुसार छ महिनाभित्र डिजाइन कार्य सम्पन्न गर्नुपर्ने थियो । दुईवटै प्याकेजको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।

द्रुत मार्गको सुरुङ तथा ‘हाई ब्रिज’ निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । यस मोडलअनुसार छनोट भएका कम्पनीले सुरुङ मार्ग निर्माणको सर्भे, डिजाइन र कमिसनिङ’ आफैँले गर्नुपर्ने हुन्छ ।

त्यसैगरी सुरुङमार्ग तथा हाई ब्रिजको निर्माण सम्पन्न भएको एक वर्षसम्म डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी) निर्माण कम्पनीकै हुने प्रवक्ता सिलवालले बताए । ‘डीएलपी’को अवधिमा सुरुङ मार्ग र हाई ब्रिजको मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीकै हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *