Sajhamanch Archive

हिउँ पन्छाएपछि पाँच दिनपछि खुल्यो सिमकोट विमानस्थल

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by .

हुम्ला, हुम्लाको हवाई सेवा पाँच दिनपछि सञ्चालनमा आएको छ। सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि उडान सुरु भएको हो।

विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज उडाउन सम्भव भएको हो।

पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेपछि हिउँ पन्छाइएको र सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण कार्यालय सिमकोटले जनाएको छ।

हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत भएको छ। नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन्।

विमानस्थल खुलेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्नसमेत ढुवानी भएको छ।

पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्य वस्तुको अभाव भएको थियो भने हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *