Sajhamanch Archive

सरकारको आग्रहमा भोलिका लागि बोलाइएको संसद बैठक स्थगित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, भोलि (माघ २६ गते) दिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगित हुने भएको छ।

संसद सचिवालय उच्च स्रोतका अनुसार सरकारको आग्रहमा संसद बैठक स्थगित गरिन लागेको हो। सम्भवतः संसद सचिवालयले आजै बैठक स्थगित भएको सूचना निकाल्ने छ।

एक हप्ता बैठक स्थगित गर्ने तयारी भइरहेको सरकारका एक मन्त्रीले जानकारी दिए। बैठक बस्ने कार्यसूची यसअघि नै तय भएको अवस्थामा भोलि बिहान ११ बजेका लागि सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बोलाएका थिए।

त्यसपछि बैठकको सम्भावित कार्यसूची पनि संसद सचिवालयले निकालेको थियो। अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा पेश गर्ने तयारी भइरहेका बेला दलहरुमा सहमति नजुटेपछि बैठक स्थगित गरेर सहमतिको प्रयास थालिन लागेको ती मन्त्रीले जानकारी दिए।

कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले यसबारेमा परामर्श गरेका थिए। स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको सरकारले पाँच दलीय सत्ता गठबन्धनमै एमसीसी सम्झौतालाई टेबल गर्ने विषयमा विभाजित भएपछि संसद बैठक नै स्थगित गरेको ती मन्त्रीले बताए।

मंसिर २८ गते सुरु भएको प्रतिनिधिसभाको सत्रको बैठक निरन्तर स्थागित हुँदै आएको छ। पुसको ६ र ७ मा एमालेको अवरोधका बीच बसेको बैठक १८ गतेका लागि स्थागित भएको थियो।

त्यसयता कोरोनाका कारण पहिले पुस २२ र २८ गते बस्ने भनिएको बैठक सारिएको थियो। त्यसयता माघ ७ र १६ गते पनि बैठक बस्दै नबसी स्थागित भयो। पछिल्लो समय एमसीसीमा सत्तारुढ दलहरुबीच कुरा नमिल्दा संसद् बैठक बस्न सकेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *