शिवालय मन्दिर तथा बालआश्रमको अक्षयकोषमा उप्रेती दम्पतीबाट २ लाख सहयोग
Published:
by .कनकाई । झापाको कनकाई ७ स्थित शिवालय मन्दिर तथा बालआश्रमले स्थापना गरेको अक्षयकोषमा स्थानीय समाजसेवी देवीप्रसाद र लिला उप्रेतीबाट सहयोग रकम प्राप्त भएको छ ।
मन्दिर परिसरमा एक संक्षिप्त कार्यक्रमका विच दाता उप्रेती दम्पतीले संस्थाका अध्यक्ष भिष्म सिटौलालाई अक्षयकोष बापतको २ लाख बराबरको चेक हस्तान्तरण गरेका छन् । हाल काठमाण्डौ किर्तिपुरमा बस्दै आएका उप्रेती दम्पतीले बुबाआमा स्व.धनपति र लछिमा उप्रेती (काभ्राबोटे) को स्मृत्तिमा सहयोग रकम हस्तान्तरण गरेको बताएका छन् । काभ्राबोटे उपनामले परिचित बुबा स्व.धनपति उप्रेतीले आफ्नो जीवनकालमा सामाजिक क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिकालाई जीवित राख्नकालागि समेत अक्षयकोषले थप सहयोग पुग्ने विश्वास गरिएको स्व.धनपतिका कान्छा छोरा समेत रहेका देवीप्रसादले बताए ।
स्थानीयस्तरमा रहेको शिवालय मन्दिर तथा बालआश्रमको थप व्यवस्थापन साथै संरक्षणमा सहज होस् भन्ने उद्येश्यले अक्षयकोष वृद्धिकालागि सहयोग गरेको दाता देवीप्रसाद उप्रेती बताउँछन् । शिवालय मन्दिर हिन्दुहरुको आस्थाको केन्द्र बन्नु पर्ने तर्फ जोड दिँदै दाता उप्रेतीले यसको स्थायीत्व साथै दैनिक पूजापाठ, भजन किर्तन जस्ता गतिविधिले निरन्तरता पाइरहोस् भन्ने कामना व्यक्त गरेका छन् ।
संस्थामा २० लाखको अक्षयकोष बनाउँने लक्ष्यका साथ दुई वर्ष अघि मात्र स्थापना गरेको यस अक्षयकोषमा हाल सम्ममा करिव ११ लाख रुपैंया जम्मा भइसकेको संस्थाका कार्यवाहक सचिव दिपक कार्कीले जानकारी दिएका छन् । संस्थालाई लक्ष्यमा पुग्नकालागि सम्पूर्ण धर्मप्रेमी, सहयोगी मनहरुलाई समेत संस्था परिवारका तर्फबाट अनुरोध गरिएको छ ।
Comments