दालगाउँमा मोटर पुग्यो
Published: (Updated: )
by .रसुवा । उत्तरी रसुवास्थित थुमन दालगाउँ सडक सञ्जालसँग जोडिएको छ । गाउँलाई सडक सञ्जालसँग जोड्न यहाँ निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले सहयोग गरेको थियो ।
आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडकमार्गको सुविधा पुर्याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माणमा गरिएको जनाइएको छ ।
भिरालो जमिन भएका कारण वातावरणीय पक्षलाई विशेष ध्यान दिँदै आयोजनाको आफ्नै उपकरणले सडकको ट्रयाक खुलाएको थियो । अहिले गाउँमा हल्का सवारीसाधन पुगेपछि स्थानीय बासिन्दा अत्यन्तै हर्षित भएका छन् ।
स्थानीयवासी बलबहादुर घलेका अनुसार सो सडकले गोसाइँकुण्ड गाउँपालिका–१, दालगाउँका ४६ घर परिवारलाई यातायातको पहुँच पु¥याएको छ । मोटरबाटो निर्माण गर्दा निस्किएको खुकुलो माटो जमेपछि टेवा पर्खाल र नाली समेतको व्यवस्था हुनेमा आफूहरू आशावादी भएको दालगाउँका बासिन्दाले बताएका छन् ।
यस्तै, सो आयोजनाले गोसाइँकुण्ड–१ कै थुमनगाउँमा बसोबास गर्ने करिब ४०० घरपरिवारलाई समेत यातायातको पहुँच पुर्याउने काम सम्पन्न गरिसकेको छ । रोंगाखोला मेन्दोगाङ, गोदेगाङ र तार्सा गाउँको बस्तीलाई समेत केन्द्रविन्दु पार्दै थुमनगाउँमा ग्रामीण सडक निर्माण गरेको हो ।
गाउँ सडकसञ्जालसँग जोडिएपछि बिरामी अस्पताल लान, खाद्यसामग्री ल्याउन, समयानुसार थुमनमा उत्पादित कृषि उपज ताजाताजै व्यापारिक केन्द्र पुर्याउन सजिलो भएको स्थानीय समाजसेवी लोप्साङ तामाङले बताए । यातायातको सुविधासँगै अहिले अन्यत्र जिल्लामा उत्पादन इँटा समेत निर्माणमा प्रयोग हुन थालिसकेको समाजसेवी उनले बताए ।
यसैगरी, आयोजनाले थुमन गुम्बा निर्माण, ग्रामीण विद्युतीकरणका साथै विविध सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।
बाह्रखरीबाट
Comments