Sajhamanch Archive

तनहूँमा प्रणय दिवसकै दिन सम्बन्ध विच्छेदका चार मुद्दा दर्ता

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by .

तनहुँ, तनहुँमाआज प्रणय दिवसकै दिन चार वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । दिवसमा खुसीयाली मनाउनु पर्नेमा आज सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको तनहुँ जिल्ला अदालतकी डिट्ठा सविना पन्थले जानकारी दिए ।

आज परेको ७ वटा मुद्दामध्ये चारवटा सम्बन्ध विच्छेदको रहेको उनले बताए । प्राप्त तथ्याङ्कले तनहुँमा दम्पतीबीच असमझादारी बढ्दो रहेको देखिएको छ । पारिवारिक मनमुटाव हुँदा हरेक वर्ष सम्बन्ध विच्छेदको सङ्ख्या वृद्धि हुँदैगएको देखिन्छ ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा तनहुँ जिल्ला अदालतमा ४ सय २८ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ ।

गतआर्थिक वर्षमा ४८९ र आर्थिक वर्ष २०७६–७७ मा ३६१ जनाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गराएको अदालतका सूचना प्रविधि सहायक सरोज तिमिल्सेनाले जानकारी दिए ।

अदालतमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका पर्नेगरेको तिमिल्सेनाले बताए । वैदेशिक रोजगारीको कारण मनमुटाव भएपछि सम्बन्ध विच्छेदमा पुग्नेगरेको उनको भनाइ छ ।

चालू आर्थिक वर्षको सात महिना अवधिमा सम्बन्ध विच्छेदका १३४ मुद्दा फछ्र्योट गरेको तिमिल्सिनाले बताउनुभयो । तीमध्ये ९० प्रतिशत वैदेशिक रोजगारीमा गएका युवासँग सम्बन्धित रहेको अदालतको तथ्याङ्क छ ।

विदेशबाट पतिले पठाएको रकमबाट पत्नीले आफ्नो नाममा जमिन र घर किन्ने अनि पति फर्केपछि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने प्रवृत्ति बढेको अदातलका शाखा अधिकृत देवी भण्डारीले जानकारी दिइन् ।

कतिपयले घरेलु हिंसा सहन नसकेकाले तथा स्वतन्त्र हुन चाहेकाले सम्बन्ध विच्छेदको मुद्दा अदालतलमा आउनेगरेको उनको भनाइ छ ।

अदालतमा परेकामध्ये ९० प्रतिशत मुद्दा बिदेसिएका पुरुष र महिलासँग सम्बन्धित रहेको पाइएको श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए ।

महिलामा जनचेतना आएकाले पनि सम्बन्ध विच्छेद बढेको कुँवरको बुझाई छ । महिलारु दबाब सहन नसक्ने र विद्रोह गर्नेगरेको कारणले पनि सम्बन्ध विच्छेद बढेको पाइएको छ’ श्रेतेदार कुँवरले भने ।

नेपाल बार एसोशियन तनहुँका पूर्वअध्यक्ष तथा अधिवक्ता ऋषीराम पोख्रेलले आमा र श्रीमतीलाई सन्तुलनमा राख्न नसक्ने, दोस्रो विवाह गरिसकेपछि कानूनी रुपमा बच्न जेठी श्रीमतीलाई सम्बन्ध विच्छेदको लागि दबाब दिनेजस्ता कारणले पनि सम्बन्ध विच्छेद बढेको बताउँछन् ।

कतिपय महिलाले सम्पत्ति आयआर्जनको माध्यम बनाउन विवाह गर्ने र सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको अधिवक्त पोख्रेलको बुझाई छ ।

सामाजिक सञ्जालको दुरुपयोगले पनि सम्बन्ध विच्छेद बढाएको श्रेतेदार कुँवरले बताए । सामाजिक सञ्जालको प्रयोगको क्रममा बसेको मायामा बहकिएर विवाह गरेको चार दिनमै सम्बन्ध विच्छेदको लागि आउने गरेको समेत भेटिएको छ’ श्रेतेदार कुँवरले भने ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *