एमसीसीका विषयमा सहमति जुटाउन बिहान १० बजे सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने
Published:
by .काठमाडौं- एमसीसीका विषयमा सहमति जुटाउन आइतबार बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्दैछ।
संसद बैठक बस्नुअघि एमसीसीबारे गठबन्धनका दलहरूबीच सहमति जुटाउने प्रयासस्वरूप बैठक बस्न लागेको हो।
संसद बैठक दिउँसो १ बजेका लागि डाकिएको छ। शुक्रबार नै एमसीसीका विषयमा गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एकीकृत समाजवादीले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो।
शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनपर्ने तर त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। माओवादी केन्द्र पनि यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णयमा छ।
यसले प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्दै आएका छन्। आजको बैठकबाट सत्ता गठबन्धन कुनै निर्णयमा पुग्ने बताइएको छ।
आजको संसदको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन। संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकको अन्तिम कार्यसूची तय गर्नेछ।
Comments