प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल गर्न सत्तारुढ गठबन्धनमा जुट्यो सहमति
Published:
by .काठमाडौ, सत्तारुढ गठबन्धनका दलबीच आज संसदमा एमसीसी टेबल गर्न सहमति भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा केही बेरअघि बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको बालुवाटार स्रोतले जनाएको छ।
त्यसो त यसअघि नै माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन सहमत भएको खबर सार्वजनिक भइसकेको छ।
एकीकृत समाजवादीले त शनिबार स्थायी कमिटी बैठकबाटै एमसीसी टेबल गर्न दिने निर्णय गरिसकेको थियो।
यसअघि भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा जारी एमाले अवरोध नहटाई र राष्ट्रिय सहमति नभई एमसीसी संसदमा टेबलै गर्न नदिने अडान लिइरहेका थिए।
तर, प्रधानमन्त्री देउवाले निरन्तर प्रयास जारी राखेपछि उनीहरू एमसीसी जस्ताको तस्तै स्वीकार गर्न नसकिने तर छलफलका लागि प्रतिनिधिसभाको बैठकमा पेस गर्न दिन राजी भएका हुन्।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ भने त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिँदै छ।
Comments