Sajhamanch Archive

पोखरा विश्वविद्यालयका ११ हजार २६८ विद्यार्थी दीक्षित

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, शिक्षा, by .

काठमाडौं– पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन्।

पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्रांगणमा आइतबार आयोजित १७औं दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म शैक्षिक कार्यक्रममा उत्तीर्ण ती विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ।

दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन , विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तरतहमा ४९४, स्नातकतहमा दुई हजार ५२१ र स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा ८४ र स्नातकतहमा एक हजार १४ जना छन्।

यसैगरी मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतको एमफिल तहमा ९७ , स्नातकोत्तरतहमा ९३ र स्नातकतहमा ५७ तथा व्यवस्थापन संकायको स्नातकोत्तरतहमा एक हजार ६९६ र स्नातकतहमा पाँच हजार २०५ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार दीक्षान्तमा विभिन्न विधाका ९३१ विद्यार्थी ‘डीन लिष्ट’मा पर्न सफल भएका छन्। तीमध्ये व्यवस्थापन संकायको स्नातकोत्तरतहमा २१९ र स्नातकतहमा ३९०, स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा १८ र स्नातकतहमा ९५, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तरतहमा ५७ र स्नातकतहमा १३६, मानविकी तथा सामाजिकशास्त्र संकायको एमफिलतहमा पाँच, स्नातकोत्तरतहमा छ र स्नातकतहमा पाँच विद्यार्थी छन्।

दीक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने तीन जनालाई कुलपति पदक, स्नातकतहका विभिन्न विधामा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने आठ जनालाई उपकुलपति पदक र स्नातकोत्तरतहका विभिन्न विद्यामा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने १६ विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो।

यसैगरी ‘कम्प्यूटर एप्लिकेशन’ स्नातकतहमा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने तीन विद्यार्थीलाई ‘ओसिइएम गोल्ड’ मेडलबाट विभूषित गरिएको सूचना अधिकृत ढकालले जानकारी दिए। विश्वविद्यालयको दीक्षान्त समारोहमा विगत तीन वर्षदेखि विविध कारणले हुन सकेको थिएन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *