Sajhamanch Archive

थप आठसहित १३१ वटा भाषा पहिचान, २३ भाषा संकटापन्न

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज, by .

काठमाडौं, मातृभाषा वक्ताहरुको संख्या दिनानुदिन घट्दो क्रममा पुगेपछि संरक्षणका लागि प्रत्येक स्थानीयतहसम्म पुगेर प्रशिक्षण र अभिलेखिकरणमा जोड दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

भाषाको पहिचान बढ्दै गए पनि वक्ताको संख्या भने न्युन रहेपछि यसको संरक्षणमा पहल थाल्नुपर्ने भएको छ । नेपालमा १०४ वटा भाषा बोल्नेको संख्या ४.०९ प्रतिशत जनसंख्या रहेको छ भने ९५.९१ प्रतिशतले १९ वटा भाषा बोल्ने गर्छन् ।

यसरी तथ्याङकीय हिसावले पनि ८० प्रतिशत बढी भाषाका वक्ताको संख्या न्युन भएपछि भाषा आयोगले अन्तर्राष्ट्रिय आदिबासी भाषा दशक सन् २०२२–२०३२ मनाउने निर्णय गरी लोपोन्मुख भाषालाई विद्युतीय अभिलेखिकरण गर्दै प्रत्येक स्थानीयतहसम्म भाषा प्रशिक्षणलाई व्यापक बनाउने लक्ष्य राखेको भाषा आयोगका प्रवक्ता गेहनाथ गौतमले बताए ।

नेपालमा हाल देवनागरी, रञ्जना, सम्बोटा, किराँत र लिम्बुका लिपीमात्र प्रयोगमा रहेका छन् बाँकी भने देवनागरी लिपी नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको आयोगले जनाएको छ ।

यी भाषाहरुको लिपी खोजी गरी व्यवस्थित गर्न आयोगले पहल शुरु गरेको छ । नेपालमा हाल ४४।६४ प्रतिशत जनसंख्याले मात्र मातृभाषा बोल्ने गरेका छन् ।

यी भाषा पनि लिपिबद्ध नहुदाँ लोप हुने अवस्थामा पुगेको आयोगले जनाएको छ । आयोगले राना थारु, नार्फु, चुम (स्र्या) नुप्रु (लार्के) पोइके, स्यर्के, मारेक याक्खा र नावा गरी थप आठ वटा भाषाको पहिचान गरेको छ ।

यसअघि २०६८ सालको जनगणनामा १२३ वटा भाषा बोलिने गरेको तथ्याङ्क थियो भने अहिले १३१ वटा भाषा हुने आयोगले जनाएको छ । १० हजार भन्दा कम वक्ता रहेको भाषा ७४ वटा रहेको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ११३ र कर्णाली प्रदेशमा सबैभन्दा कम ५५ वटा भाषा प्रयोग हुने गरेको छ । आयोगले ११ वटा भाषालाई सरकारी कामकाजका लागि सिफारिस गरेको छ ।

विश्वमा १५ दिनमा दुई वटा भाषा लोप हुने गरेको तथ्य सार्वजनिक भएको छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै सोमबार भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान र संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले मातृभाषामा कविता महोत्सवसहित विभिन्न जातजातिका सांस्कृतिक झाँकी कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।

तीनवटै संस्थाको आयोजनामा आइतबार ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ कार्यक्रम आयोजना भएको थियो । आइतबार प्रस्तुत कार्यपत्रले नेपालमा एक हजारभन्दा कम वक्ता रहेका ३७ भाषामध्ये २३ भाषा संकटापन्न अवस्थामा पुगेको जानकारी गराइएको थियो ।

ती भाषाको संरक्षणमा काम गर्नुपर्नेमा पनि जोड दिइएको थियो । सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा मनाउन सुरु गरिएको हो ।

नेपालमा विसं २०६६ देखि विशेष रुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदै आएको छ । भाषाविज्ञान केन्द्रीय विभागका सहप्रा डा। दुवीनन्द ढकाल भाषा लोप हुँदा यसको सांस्कृतिक र बौद्धिक धरोहरको समेत अवशान हुने बताउँछन् ।

भाषिक विविधता आफैँमा वैज्ञानिक खोज–अनुसन्धानको विषय भएकाले यसको संरक्षणमा राज्य गम्भीर भएर लाग्नुपर्ने उनले बताए ।

संसारमा बोलिने करिव सात हजार भाषामध्ये करिब ४३ प्रतिशत भाषाहरू संकटापन्न अवस्थामा रहेको उनले बताए । यी मध्ये थोरै भाषालाई मात्र शिक्षा, प्रशासन तथा सार्वजनिक स्थानमा प्रयोगमा अनुमति दिइएको छ ।

युनेस्कोले नेपालमा ७१ तथा भारतमा १९७ संकटापन्न भाषाहरू सूचीकृत गरेको छ । नेपालको संविधानको धारा २८७ अनुसार सरकारले २०७३ भदौ २३ मा भाषा आयोग गठन गरेको छ ।

गोरखापत्र

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *