Sajhamanch Archive

कांँग्रेस नेतालाई बालुवाटार बोलाए प्रधानमन्त्री देउवाले, एमसीसी बारे छलफल हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, आइतवार प्रतिनिधिसभामा पेश गरिएको अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी विधेयक पास गर्ने रणनीति बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल अघि बढाएका छन्।

कांँग्रेस सभापतिसमेत रहेका देउवाले त्यसका लागि सोमबार दिउँसो आन्तरिक छलफल गर्दैछन्। त्यसका लागि उनले सोमबार दिउँसो कांँग्रेस पदाधिकारीसहित शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन्।

संसदमा एमसीसी टेबल भए पनि सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी पास गर्न नदिने अडानमा बसेपछि देउवाले विकल्पको खोजीमा संवाद थालेका हुन्।

देउवाले बोलाएपछि महामन्त्री गगन थापा र प्रवक्ता डा.प्रकाशशरण महतसहितका नेताहरु अहिले बालुवाटार पुग्दैछन्।

यसैबीच सत्तारुढ गठबन्धनको समन्वय समिति संयोजक एवम् कांँग्रेस नेता रामचन्द्र पौडेलले एमसीसी पास गराउने रणनीति तय गर्न छलफल गरिरहेका छन्।

उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग सोमबार छलफल गर्दैछन्। पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सिंहदरबारमा छलफल सकिएको छ।

त्यसपछि उनले सोमबारै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि वार्ता गर्दैछन्।

एमसीसी संसदमा टेबल भए पनि अझैसम्म पास गर्ने अंकगणित तय भइसकेको छैन। एमसीसी पास गराउन माओवादी र समाजवादी तयार नभए कांँग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग पनि संवादको ढोका खोलिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *