Sajhamanch Archive

एमसीसीले पाँच दलीय गठबन्धन संकटमा, एमालेसँग सहकार्य गरेर एमसीसी पास गराउने पक्षमा प्रधानमन्त्री

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भइसकेपछि भोलि (१२ फागुन)मा पहिलोपटक संसद बैठक बस्दैछ ।

भोलिकै बैठकबाट थप प्रक्रिया पूरा गरेर संसदबाट पारित गर्ने पक्षमा पुगेका छन्, प्रधानमन्त्री शेरबहादुर देउवा ।

तर, सत्तारुढ दलभित्रै एमसीसीबारे धारणा विभाजित हुँदा प्रधानमन्त्रीलाई भने सकस परेको छ । बरु, सत्ता गठबन्धन तोडेरै भएपछि प्रमुख प्रतिपक्षीसँग सहकार्य गरेर एमसिसी संसदबाट टेबल गर्ने पक्षमा प्रधानमन्त्री छन् ।

जसको प्रयासस्वरूप प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीसँगको सहकार्य बढाएका छन् । प्रतिनिधिसभाको कैयन् बैठकहरू एमालेले प्रभावित गरिरहँदा एमाले अध्यक्ष ओली सर्वदलीय बैठकमा समेत उपस्थित भएनन् ।

त्यतिबेला एमालेले प्रधानमन्त्री आफैं गएर ओलीलाई एक्लाएक्लै भेट्नपर्ने सर्त राखेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले ‘अन्याय’ गरेको निचोड निकालेको एमालेले उनको राजीनामा र आफ्नो पार्टीले कारबाही गरेका सांसदको कारबाही सूची टाँस गर्न माग त्यो बेलादेखि अहिलेसम्म पनि गरिरहेको छ ।

पछिल्ला दिनमा गठबन्धनमा समस्या देखिएपछि ओली आफैं बालुवाटारसम्म पुग्न थालेका छन् । एमसीसीलाई नै हतियार बनाएर गठबन्धन टुटाउने कसरतमा ओली चलाखिपूर्ण तरिकाले लागिपरेका छन ।

युवा नेताको वाकयुद्ध  

एमसिसी संसदमा टेबल नहुँदासम्म सत्तारुढ गठबन्धनभित्र मतभेद त थियो, तर खुलेरै एक अर्काको विरोधमा भने उत्रिएका थिएनन् दलहरू । अब गत आइतबार संसदमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता टेबल गरे, त्यसपछि नेताहरू पनि खुलेरै विरोधमा देखिएका छन् ।

प्रधानमन्त्री देउवाको विश्वासपात्र बनेर एमसीसी पास गराउन लागिपरेका कांँग्रेस महामन्त्री गगन थापाले ‘डबल स्ट्यान्डर्ड‚ नदेखाउन चेतावनी नै दिएका छन् ।

उनले हिजो मात्रै पुस्पकमल दाहालकै गृहजिल्लामा पुगेर भनेका छन्, ‘सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ ।

तर, सँगै जान्छौं भन्ने कुरा अनैतिक र अराजनीतिक विषय हुन्छ । कि यसका पक्षमा मतदान गरेर सँगै बसौं । फरक फरक ठाउँमा मतदान गर्ने भएसँगै बस्न सकिँदैन ।’

सत्ता गठबन्धन बच्ने कि नबच्ने अन्यौल भइरहँदा उनले माओवादी केन्द्र र एकीकृत समाजवादीलक्षित भनाइ राखेका थिए । महामन्त्री थापाको उक्त भनाइलाई दाहाल निकटका मानिने वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले प्रतिवाद गरे ।

उनले सामाजिक सञ्जालमार्फत गगनलाई ‘मित्र’ सम्बोधन गर्दै भनेका छन्, हाम्रो ढाडमा टेकेर एमसीसी बोकेर बुर्कुसी मारिरहेको सरकार हामीले छोडेको दिन बूढानीलकण्ठको बार्दलीमा पुग्ने हो ।’

एउटै गठबन्धनबाट सरकार चलिरहँदा माओवादी र कांँग्रेसबाट प्रतिनिधित्व गर्ने यी दुई युवा नेताको वाकयुद्धले पनि सत्ता गठबन्धन धर्मराएको मात्रै होइन संकटको अन्तिम घडिमा पुगेको पुष्टि गरेको छ ।

देउवाको अर्थपूर्ण दौडधुप

एमसिसी टेबल भइसकेपछि प्रधानमन्त्री देउवा अर्थपूर्ण भेटघाटमा व्यस्त छन । उनले सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूसँग समानान्तर भेटघाट बढाएका हुन् ।

कुनै हालतमा एमसिसी पास गर्ने रणनीतिमा रहेका देउवाले हिजो साँझ ओलीलाई बालुवाटार बोलाएर वार्ता गरेका थिए । देउवाले यसरी एमाले अध्यक्ष ओलीसँग बाक्लो भेटघाट गरिरहँदा गठबन्धनका अन्य दलहरू भने संशकित भएका छन् ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीको ‘ट्र्याप’ मा परेका देउवा पार्टीभित्र एकमत जुटाएर एमसीसीको पक्षमा कसरत गरिरहेका हुन् । पार्टीका आफू निकट नेताहरूलाई पनि उनले एमसीसीको पक्षमा माहोल बनाउनका लागि खटाएका छन् ।

सभामुखसँग रुष्ट रहेको एमालेलाई अझै देउवाले मनाउन सकेका छैनन् । अध्यक्ष ओलीका सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार अध्यक्ष ओलीले आफ्नो कुरा स्पष्ट राखेका छन् ।

उनले भने, ‘उहाँहरूले अध्यक्षज्यूसँग भेटेर एमसिसीमा सहयोग गर्नु भन्नुभएको छ । हामीले पहिला त हामी संसदमा छिर्ने वातावरण तय हुनुपर्यो भनेका छौं ।’

आफूहरुको माग सम्बोधन नभई संसदमा प्रवेश गरेर संसदीय प्रक्रियामा सहभागी हुन नसक्ने उनले बताए । सोही कुरा अध्यक्ष ओलीले देउवासामु राखेको उनको भनाई छ ।

दाहालको टिप्पणी र सकस 

यतिबेला सबैभन्दा बढी प्रेसर कसैमा छ भने, त्यो माओवादी अध्यक्ष दाहाललाई नै छ । उनलाई कुनै हालतमा एमसीसी अहिले नै संसदबाट पास नगर्ने दबाब पार्टीभित्रबाट छ । अर्कोतर्फ देउवाले एमसीसीकै कारण गठबन्धन टुटाउने हुन कि भन्ने शंकाले भय थपिदिएको छ ।

देउवा लगातार प्रतिपक्षी दल एमालेसँगको संवादमा अघि बढ्न थालेपछि उनले त्यसलाई ‘षडयन्त्र’को रुपमा टिप्पणी गरेका छन । अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको उनको बुझाइ छ ।

अध्यक्ष दाहालको अफिसियल फेसबुक पेजमा एक कभर फोटो सेयर गर्दै दाहालले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ ।’

अध्यक्ष दाहाल बेला-बेलामा क्रान्ति र प्रतिक्रान्ति शब्दहरू जोडेर अर्थपूर्ण अभिव्यक्ति दिइरहेका हुन्छन् । सोही अर्थपूर्ण भनाइमध्येको एक हो, उनले भनेको यो भनाई ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *