Sajhamanch Archive

लैङ्गिक हिंसामा यौन हिंसाका पीडित १४ वर्ष मुनिका बालिका बढी

Published: in समाज, स्थानीय तह by .

भद्रपुर । हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचारकेन्द्र भद्रपुरमा वार्षिक १७० जनाले सेवा लिएको पाइएको छ ।

लैङ्गिक हिंसा पीडित सरोकार जिल्ला समन्वय समिति झापा मातहत रहेको मेची अस्पतालको विवरण अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा हिंसा पीडित १७० ले निशुल्क सेवा पाएका हुन् ।

मेची अस्पताल मातहतमा रहेको निशुल्क उपचार केन्द्रमा हिंसा पीडितहरूले शारीरिक तथा मानसिक उपचार सेवा लिने गरेका छन् । सो विवरण अनुसार १४ वर्ष मुनिका बालिकाको संख्या ५० प्रतिशत बढी रहेको छ । जसमा यौन हिंसा पीडितको संख्या उल्लेख्य छ भने बाल विवाह, बहुविवाह, मानसिक हिंसा लगायत अपराधबाट पीडित रहने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिको बैठकमा मेडिकल रेकर्डर मनोज पोखरेलले पेश गरेको विवरण अनुसार यस वर्षको माघ मसान्तसम्ममा ७१ जनाले सेवा लिएका छन् । हिंसा पीडितको सूचिमा विर्तामोड नगरपालिका, मेची नगरपालिका, भद्रपुर नगरपालिका र दमक नगरपालिका उच्च हिंसक क्षेत्रका रूपमा देखिएका छन् ।

विभिन्न सरोकारवाला संघ संस्थाले उद्धार गरे पनि हिंसा पीडितको उपचारका लागि नेपाल प्रहरीले अस्पतालसम्म ल्याइ दिने गरेको विवरणमा उल्लेख छ । हिंसामा परेकाहरूको उपचारका लागि छुट्टै कक्ष मार्फत अस्पतालमा उपचार सेवा प्रवाह गरिदै आएको समितिका सदस्य सचिव डा. टंकप्रसाद बाराकोटीले जानकारी दिए । उनका अनुसार मेची अस्पतालमा उपचार संभव नभए अन्यत्र लगेर पनि निशुल्क उपचार गर्ने प्रबन्ध रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *