Sajhamanch Archive

प्रधानमन्त्री देउवा कांँग्रेस टोली लिएर लागे ओली निवास बालकोटतिर

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयदेखि प्रतिनिधि सभामा जारी प्रमुख प्रतिपक्षी एमालेको अवरोध खुलाउन फेरि एमाले अध्यक्ष केपी ओलीको निवास प्रस्थान गरेका छन्।

प्रधानमन्त्री देउवासँगै कांग्रेसका नेता एवं सञ्चारमन्त्री कार्की, कांँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट लागेका छन्।

गतभदौ २३ गतेदेखि प्रतिनिधिसभामा एमालेले गरिरहेको अवरोध खुलाउन देउवा भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको निवास गएका हुन्।

प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना सम्झौता अनुमोदनका लागि अवरुद्ध संसद् सञ्चालन गराउन यही फागुन ५ गतेदेखि निरन्तर एमाले अध्यक्ष ओलीलाई भेटेरै आग्रह गरिरहेका छन्।

त्यसयता प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटक छलफल भइसकेको छ। गत बिहीबार प्रतिनिधि सभा बैठक स्थगन गरेर उनले ओलीसँग संसद् भवनमै अवरुद्ध संसद् सञ्चालन तथा एमसीसी अनुमोदनबारे छलफल गरेका थिए।

सोही दिन बेलुकी उनीहरुबीच बालुवाटारमा पनि छलफल भएको थियो। यस्तै शुक्रबार बेलुकी मात्र प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमै वार्ता भएको थियो।

छलफलमा प्रधानमन्त्री देउवासहित कांँग्रेस नेता तथा सञ्चारमन्त्री कार्की, कांँग्रेसका उपसभापति खड्का र महामन्त्री थापा सहभागी भएका थिए। एमालेबाट अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी थिए।

शुक्रबारको छलफलमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग पहिले प्रतिनिधिसभामा प्रवेश गर्ने वातावरण बनाउन सुझाव दिएका थिए।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीले भनेका थिए, केपी शर्मा ओलीजीले हामीलाई संसदमा प्रवेश गर्ने वातावरण तयार गर्नूस्। त्यसपछि हामी हाम्रो विचार राख्छौं। र, त्यो पछि निष्कर्षमा पुग्न सजिलो हुन्छ भन्नुभएको छ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग एमाले र कांँग्रेस संघर्षबाट स्थापित लोकतन्त्रका सहयात्री भएको जिकिर गर्दै लोकतान्त्रिक मूल्य–मान्यतामा एक ठाउँमा उभिन आवश्यक रहेको पनि बताएका थिए।

एमसीसी अनुमोदनका लागि कांँग्रेसका तर्फबाट भूमिका निर्वाह गरिरहेका एक नेताले आगामी सोमबारसम्म एमसीसी पारित गराउने गरी पहल भइरहेको जानकारी दिएका छन्।

‘सोमबारसम्म जसरी पनि एमसीसी पारित गर्ने तयारी प्रधानमन्त्रीको छ’, उनले भने, त्यसका लागि गठबन्धनमा सहमतिको प्रयास भइरहेको छ। सहमति भएन भने एमालेसँग मिलेर भएपनि एमसीसी पास हुन्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *