Sajhamanch Archive

एमसीसी स्वीकार गर्ने माओवादी निर्णयमा नारायणकाजी, महरा, गुरुङ र पोखरेलको असहमति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, नेकपा माओवादी केन्द्रमा एमसीसी परियोजना स्वीकार गर्ने विषयमा पाँच नेताले असहमति राखेका छन्।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलले एमसीसी परियोजनालाई स्वीकार गर्ने अध्यक्ष पुस्पकमल दाहालको प्रस्तावमा असहमति जनाएका छन्।

उनीहरुबीच अहिले छुट्टै छलफल भइरहेको एक नेताले बताए। आइतबार बिहान बसेको माओवादी केन्द्रको पूर्वस्थायी समितिको बैठकले एमसीसीमा भएका राष्ट्रिय हितविपरीतका प्रावधान परिमार्जनरसंशोधनसहित पारित गर्न सकिने निर्णय गरेको छ।

अध्यक्ष दाहालले यसलाई बीचको बाटोबाट अघि बढ्न खोजेको तर्क गरेका छन्। ‘अध्यक्षले यसलाई बीचको बाटो ल्याएको बताउनुभयो’, ती नेताले भने, ‘यो प्रस्तावमा पनि हामी पाँच जना नेताहरु असहमति छ, अहिले हामी छलफलमा छौँ।’

पूर्वस्थायी समितिको बैठकमा गणेश साह उपस्थित थिएनन्। माओवादी केन्द्रको यसअघि बसेको पूर्वस्थायी समिति बैठकले संशोधन र परिमार्जन नगरी एमसीसी अगाडि बढाउन नसकिने भनिरहेको थियो।

गठबन्धन नै धरापमा परेपछि दाहालले बीचको बाटो अपनाएर एमसीसी पास गरेर जाने प्रस्ताव ल्याएका हुन्। तर, यसमा पार्टीका पाँच नेताले असहमति जनाउँदै अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका हुन्।

‘पार्टी निर्णय, यसअघिको पूर्वस्थायी समितिको बैठकको निर्णयविपरीत यसरी निर्णय गर्दा सही हुँदैन,’ असहमत अर्का नेताले भने, ‘जनताहरु एमसीसीको विरुद्धमा आन्दोलन गर्न सडकमा उत्रिएका छन्।’

पाँच नेताले के निर्णय गर्छन् संसद बैठकमा उनीहरु कसरी प्रस्तुत हुन्छन् अहिले नै खुल्न चाहेका छैनन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *