एपीएफ ललितपुर मेयर च्याम्पियनसिपको बिजेता
Published:
by .काठमाडौ, विभागीय टोली एपीएफले ललितपुर मेयर महिला टि-२० च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ। उसले सोमबारको फाइनलमा सुदूरपश्चिममाथि ८ विकेटको सहज जीत हात पार्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो ।
११४ रनको लक्ष्य एपीएफले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान दिइन् । ४४ बलको सामना गरेकी उनले ५ चौका प्रहार गरिन् ।
इन्दू बर्मा २९ तथा राजमति ऐरी ५ रनमा अविजित रहँदा कप्तान सीता राना मगरले १९ रन बनाइन् । पहिलो विकेटका लागि ज्योति र सीताले ५८ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई राम्रो सुरुवात दिलाएका थिए ।
सुदूरपश्चिमका लागि सम्झना खड्का र लक्ष्मी साउदले १-१ विकेट हात पारे । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि बिन्दु रावलले ३७, डोली भट्टले ३६ रनको योगदान दिँदा कविता कुवँर २४ रनमा अविजित रहिन् । तेस्रो विकेटका लागि डोली र कविताले रनको ५२ रनको अर्धशतकिय साझेदारी गर्दै सुदूपश्चिमको पारी उकासेका थिए ।
एपीएफका लागि सुष्मा श्रेष्ठले २ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
Comments