Sajhamanch Archive

राप्रपाले बुधबारदेखि बोलायो केन्द्रीय कार्यसमितिको बैठक

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ। उक्त बैठक बस्नु अगाडि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर संगठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिए।

देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले आसन्न स्थानीय तहको चुनावमा उम्मेदवारको छनोट गरिरहेको छ।

गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले दोस्रोपटक केन्द्रीय समितिको बैठक बोलाएको हो। नेता सुन्दर पाण्डेका अनुसार पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे देशभर घरदैलो कार्यक्रम गरी आम नागरिकलाई सुसूचित गरिनेछ।

पाँच प्रदेशस्तरीय विस्तारित बैठक हालै सम्पन्न गरेको पार्टीले नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउनेलगायत विषयमा प्रशिक्षणसमेत दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *