एमसीसीका कारण असन्तुट नारायणकाजी फकाउन दाहाल हात्तीवनमा
Published:
by .काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्।
मंगलबार दिउँसो ४ बजे हात्तीवन पुगेका दाहाल र श्रेष्ठबीच आधा घण्टा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ। दुई नेताबीच छलफल भएको विषय भने थाहा हुन सकेको छैन।
तर, एमसीसीको विषयमा दुई नेताबीच विवाद बढेको सार्वजनिक भइसकेको विषय भएकाले सोही सन्दर्भमा कुराकानी भएको हुनसक्ने आकलन गरिएको छ।
नारायणकाजी श्रेष्ठ एमसीसीलाई प्रतिनिधिसभाबाट पारित गर्ने कुराको विरोधी थिए। तर, दाहालले व्याख्यात्मक टिप्पणीसहित पारित गर्न सहमति जनाएका थिए। सोही अनुसार आइतबारको प्रतिनिधिसभाले सो विषयलाई टुंगो लगाएको छ।
श्रेष्ठले सार्वजनिक रुपमै पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। जसप्रति दाहालले पनि असन्तुष्टि जनाएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा दाहालले श्रेष्ठलाई सार्वजनिक रुपमा नबोल्न र आफ्नो कुरा केन्द्रीय कमिटीमा राख्न भनेको तर नमानेको बताएका थिए।
Comments