Sajhamanch Archive

स्थानीय निर्वाचनमा काँग्रेसले गठबन्धन नगर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, नेपाली कांँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन्।

सत्तारुढ प्रमुख घटक कांग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन्।

उनले स्थानीय आवश्यक्ता लाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गरे। तर, यस विषयमा सत्तारुढ दल भित्र भने कुनै छलफल भइनसकेको उनको स्पष्टिकरण छ।

प्रवक्ता महतले आवश्यकताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुट्नुपर्ने अवस्था रहेको दोहोर्याए। स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए।

प्रवक्ता महतले भने, ‘गठबन्धनमा एमसीसीको विषयलाई लिएर जुन संकट आएको थियो। त्यसमा समझदारी विकसित भइसकेपछि यो संकट टरेको छ। र, त्यो अव स्वभाविक रुपमा यो गठबन्धन अगाडि बढ्छ।

अब वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। ३० गते नै त्यो सम्पन्न हुन्छ। त्यसमा कुनै दुविधा छैन। यो निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढ्छ।

जहाँसम्म गठबन्धन सरकारमा बसेका दलहरुले यो निर्वाचन पनि गठबन्धन गरेर जान्छ कि जाँदैन भन्ने विषय छ। अब स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि।

स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ। त्यसले गर्दा यो केन्द्रीय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ। र, विधानतः पनि त्यो सम्भव हुँदैन।’

उनले थपे, ‘स्थानीय आवश्यकताहरुलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरू पनि हुन सक्दछ। कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले गर्ने अवस्था पनि छ।

तर, समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भइसकेको अवस्था छैन। आवश्यकताको सिद्धान्त र पार्टीलाई यसले कतिको फाइदा गर्छ भन्ने सिद्धान्तमा यो सम्पूर्ण कुरा निर्भर गर्छ। र, गठबन्धनमा सम्मिलित हरेक दलहरुले दलभित्र यसको मूल्यांकन गर्लान र एउटा निचोडमा पुग्लान्।’

प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए। उनले सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसलाई छाडेर एमालेले संसद सूचारु गराउन पुनर्विचार गर्नुपर्ने धारणा समेत राखे।

चालू अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतीमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनको तर्क थियो।

प्रवक्ता महतले एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संवादलाई निरन्तरता दिने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *