परिवर्तननिम्ति काँग्रेस आवश्यक : महामन्त्री थापा
Published:
by .काभ्रे, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास र आमनागरिकको जीवनस्तर सुधारका लागि पाँच वर्ष काँग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस बनेपा नगर समितिद्वारा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अवस्था परिवर्तन गर्न काँग्रेस आवश्यक रहेको बताए ।
महामन्त्री थापाले वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा नेपाली विदेशिएको बताउँदै त्यसको अन्त्य र युवालाई रोजगारी दिने काँग्रेसको प्राथमिकता रहेको बताए ।
नेपाललाई मान्छे बेच्ने देश होइन, सामान बेच्ने देश बनाउने काँग्रेसको सोच छ,” उनले भने । उनले तात्कालीन नेकपाको सरकारले आमनागरिकको जीवनस्तरमा सुधार ल्याउने म्यान्डेट पाए पनि उसले काम गर्न नसकेको बताए ।
नेकपाअगाडिको सरकारले संविधान निर्माण, राजतन्त्र अन्त्य, पञ्चायत अन्त्य गर्नमा ध्यान दिनु परेको थियो । तर, केपी ओली नेतृत्वको सरकारले जनताले दिएको म्यान्डेटअनुसार काम गर्न नसकेकाले काँग्रेस मुलुकका लागि पनि चाहिएको जिकिर गरे ।
उनले एमसीसी नेपालको हितमा रहेकाले गाउँगाउँमा गएर जनतालाई बुझाउन अपिल गरे । कम्युनिस्टले भ्रम र भय बेच्छन्, त्यो काँग्रेसले चिर्नुपर्छ, उनले भने ।
कम्युनिस्ट पार्टीले पटक–पटक काँग्रेसले उद्योग बेचेको आरोप लगाउने गरेको बताउँदै महामन्त्री थापाले सरकारले चलाएको उद्योग घाटामा गएपछि बेचेको स्पस्ट पारे ।
यो लुकाउनुपर्ने कुरा छैन, सरकारले चलाएको जुत्ता उद्योग, चुरोट र चिनी उद्योगका कारण वार्षिक एक अर्ब घाटा लागेपछि बेचेकै हो, उनले थपे ।
शिक्षा र स्वास्थ्यबाहेकमा राज्यले लगानी गर्ने होइन । उद्योगीले उद्योग खोल्ने हो । राज्यले त्यसको संरक्षण गर्ने मात्र हो, उनले भने ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले एमालेकै कारण ५४ वटा विधेयक संसद्बाट बन्न नसकेको बताउँदै एमालेलाई जिताउन आवश्यक नभएको धारणा राखे ।
बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले काँग्रेसले भीडको राजनीति कहिल्यै नगर्ने बताउँँदै जनताको हीतका लागि काम गर्ने बताए ।
राजनीतिलाई जनताको न्याय र सेवामा लाग्ने अवसरका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय उर्मिला केसी र गणेश लामा, बागमती प्रदेशका महामन्त्रीद्वय कञ्चनचन्द्र बादे र राजु श्रेष्ठ, जिल्ला सभापति तीर्थ लामा, प्रतिनिधिसभा क्षेत्र नं. १ का सभापति दिनेश लामा, २ का सभापति महेश खरेल, प्रदेशसभा सभापति रामहरि श्रेष्ठ, बनेपा नगर सभापति महेश कर्माचार्यलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यसहित दर्जनौँ मानिस विभिन्न पार्टी छाडेर काँग्रेसमा प्रवेश गरेका थिए ।
Comments