Sajhamanch Archive

लाङटाङ संरक्षण क्षेत्रमा : ३१ प्रजातिका गुराँस

Published: (Updated: ) in समाज by .

ताप्लेजुङ । गुराँसको राजधानीका रूपमा परिचित प्रदेश १ मा ३१ प्रजातिका लालीगुराँस पाइन्छन् । कञ्चनजंघा संरक्षण क्षेत्रले प्रकाशित गरेको पुस्तकमा उल्लेख भएअनुसार १९ प्रजातिका गुराँस त पूर्वका पहाडी जिल्लामा मात्रै रहेको छ ।

नेपालमा पाइने ३३ मध्ये दुई प्रजाति पूर्वमा नपाइएको हो । यी प्रजाति लाङटाङ संरक्षण क्षेत्रमा मात्रै पाइन्छ । पुस्तकमा ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम र इलामलाई गुराँसको राजधानीका रुपमा परिभाषित गरिएको छ ।

यी जिल्लामा १२ देखि ३६ सय मिटर उचाइसम्मका गुराँसमा विविधता पाइन्छ । बोटको उचाइ र आकार, फूलको झुप्पा र रङ, पातको तल्लो भागमा हुने झुसमा विविधता रहेको उल्लेख गरिएको छ । गुराँस भने नेपालमा १२ सयदेखि ५५ सय मिटर उचाइसम्ममा पाइन्छ ।

गुराँसको एउटा झुप्पामा ५ देखि २५ वटासम्म फूल फुलेको र प्रजाति अनुसार झुप्पाहरूको व्यास १० देखि २० सेन्टिमिटरसम्म पाइएको उल्लेख छ ।

तथ्यांकअनुसार ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा २३ प्रजातिको गुराँस छ । अध्ययन टोलीले गुराँस फुल्ने समयमा यसका हाँगा, पात र फूलका नमुना संकलन गरेको कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत हेमराज आचार्यले बताए । संकलित नमुनाको हर्वेरियम तयार गर्ने र स्वस्थ पातलाई सिलिका जेल नामक रसायनिक पदार्थमा भण्डारण गरेर अध्ययन गरिएको हो ।

संकलित हर्वेरियम नमुनाहरूलाई सम्बन्धित विज्ञ तथा राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा संगृहित नमुनासँग दाँजेर प्रजातिको निक्र्याेल गरिएको अनुसन्धान कर्ताले बताएका छन् । फरक देखिने प्रजातिको पारिस्थितिक प्रणालीको पनि अध्ययन गरिएको थियो । यसरी संकलित नमुनाको भविष्यमा थप अध्ययन गर्न सकिन्छ भने आनुवासिक अनुसन्धनमा समेत मद्दत पुग्दछ ।

चीनमा भेटिएको ३५ मिटर अग्लो र ३ मिटर काण्ड मोटाइ भएको ‘रोडोडेन्ड्रोन प्रोटिस्टुम भेराइटिज गिगान्टियुम’ प्रजातिको गुराँस अहिलेसम्मकै सबैभन्दा अग्लो मानिएको छ । नेपालमा भने ५ देखि १० सेन्टिमिटरका बुट्यानदेखि १५ देखि १८ मिटरसम्मका रुखहरू भेटिएका छन् । अहिलेसम्म भेटिएको लालीगुराँसको रुख १८ मिटरको छ ।

नेपालको रैथाने प्रजाति रोडोडेन्ड्रोन लोओन्डेसी हिमालय क्षेत्रको सबैभन्दा होचो प्रजातिको रूपमा लिइएको छ । पूर्वी र मध्य नेपालको शितोष्ण क्षेत्रका चांैडापाते बनमा पाइने गुराँसका बोट चौडा र अग्ला हुन्छन ।

गुराँसका बोट सुरिला र सर्लक्क परेका बिरलै हुने लेखमा उल्लेख छ । जैविक पदार्थ कुहिएर बनेको मलमा राम्रो फस्टाउने गुराँस अन्य बनस्पतिको हाँगाको कापमा जम्मा हुने प्रांगारिक पदार्थ र ढुंगाको सतहमा बाक्लो गरी जम्मा हुने झ्याउमा पनि हुर्कने गरेको छ । यसको काण्ड, बोक्रा, पात, फूलका आकार, प्रकार, गुण र रङमा उल्लेख्य विविधता देखिएको आचार्यले बताए ।

कतिपय अवस्थामा त यस्ता विविधता फरक प्रजातिबीचमात्रै नभएर फरक बासस्थान, उचाइ र भौगोलिक अवस्थामा रहेका एकै प्रजातिका फरक बोटमा पनि भेटिएको छ । त्यसैले गुराँसका प्रजातिको पहिचान र वैज्ञानिक वर्गीकरणमा वनस्पतिविदबीच मतभिन्नता देखिएको हुनसक्ने अनुसन्धानकर्ता बताउँछन् ।

गुराँसका फूलमा पाँचवटा पत्रदल, पाँच पुष्पदल, पाँचदेखि दस पुंकेशर, एउटा स्त्रिकेशर पाइएको छ । जराहरू गइराइमा नगई माथिमाथि फैलिएको पाइने गुराँस विश्वमा भने १०५० प्रजाति प्राकृतिक बासस्थानमा पहिचान भइसकेको छ । गुराँसका प्रजाति अत्यधिक संख्यामा पाइने चीनमा मात्रै ५ सय ७१ प्रजाति छ । युनान प्रान्तको उत्तर पश्चिममा पर्ने हेङदुवाङ पर्वत शृंखलामा मात्रै २ सय ५० प्रजाति एकै ठाउँमा रहेको छ ।

नेपालमा सन् १८४८ देखि वनस्पती शास्त्रीले गुराँसको अध्ययन गरेको पाइन्छ । स्थानीय स्तरमा भने गुराँस काठ–दाउरामा प्रयोग हुँदै आएको छ । कतिपयले जुस बनाउन पनि प्रयोग गरेका छन् भने सजावटको रुपमा पनि यसको प्रयोग हुन्छ ।

कान्तिपुर 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *