नक्कली भ्याट बिजक बनाएर ८ करोड राजस्व छली आरोपमा ३ जनालाई उच्च अदालत पाटनमा मुद्दा
Published:
by .काठमाडौँ — राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
उच्च अदालत पाटनमा मंगलबार तीन जनाविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुबाट कुल १६ करोड ४३ लाख बिगो तथा जरिवाना माग गरिएको छ ।
मुद्दा दायर गरिएकाहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका देउजा गाउँमा स्थायी बसोबास गर्ने दीपककुमार देउजा, चितवन कालिका नगरपालिका स्थायी ठेगाना भई काठमाडौंको सितापाइलामा बस्ने मोहनप्रसाद भट्टराई र काठमाडौं लगनटोलमा स्थायी बसोबास गर्ने सुनिलमान शाक्य छन् ।
उनीहरुले सौगात इन्टरनेसनल स्था.ले.नं. ३०४३०९५४४ नामक कम्पनीबाट नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि बिजकमार्फत विवरण तयार गरी राजस्व छली गरेको विभागले जनाएको छ ।
मूल्य अभिवृद्धि कर तर्फ २ करोड ५२ लाख १४ हजार ३९५ र आयकर तर्फ ५ करोड ६९ लाख ५८ हजार २४६ समेत कुल बिगो ८ करोड २१ लाख ७२ हजार ६४१ रुपैयाँ कायम गरी प्रतिवादीहरु देउजा र भट्टराईसँग असूल उपर गरी बिगोको शतप्रतिशत जरिवाना माग गरिएको छ ।
शाक्यको हकमा मतियारलाई हुने सजाय हुन माग दावी लिई अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।
Comments