ओली कहिल्यै रुपान्तरण भएनन, अहिले कमल थापासँग तालमेल गर्दैछन् रे : अध्यक्ष दाहाल
Published:
by .पोखरा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रुपान्तरण गर्न सकिएला भनेर प्रयास गरेपनि नसकिएको बताएका छन्।
माओवादी केन्द्रको गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टी एकतापछि ओलीलाई रुपान्तरण गर्न प्रयास गरे पनि असफल भएको बताए।
आफूहरुले ओलीलाई रुपान्तरण गर्ने प्रयास गरेपनि ओली भने पछिल्लो समय कमल थापासँग चुनावी तालमेल गर्ने अवस्थामा पुगेको दाहालले टिप्पणी गरे।
‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला भनेर हामीले एकता गर्यौं। सकिएन । हुदाहुँदा ओलीजी त कमल थापासंँग चुनावी तालमेल गर्ने तयारी गर्दै हुनुहुन्छ रे,’ दाहालले भने।
माओवादी पार्टीलाई रुपान्तरण गर्न कम्युनिस्टको केन्द्र बनाइने दाहालले दाबी गरे। ‘यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिनेरु बनाउन सम्भव छ भन्ने कुरा प्रतिगमन विरुद्धको आन्दोलनले देखायो।
फलाम तातेको बेला हान्न पर्छ, यहि हो बेला हामी पार्टी निमार्णतिर लाग्नु पर्छ,’ दाहालले भने।
ओलीको प्रतिगमन विरुद्धको आन्दोलनमा माओवादीले नेतृत्व गरेको दाबी गर्दै दाहालले त्यसमा अरु कसैले नेतृत्व गरेको भए सम्भव नहुने जिकिर समेत गरे।
‘माइतीघर मण्डलामा पलेटी कस्दा कतिले सकियो प्रचण्ड भनेका थिए। तर, त्यो एकपछि अर्को थपिदै जाँदा विशाल आन्दोलन बन्न पुग्यो र प्रतिगमन परास्त भयो,’ दाहालले भने, ‘हामी शान्ति प्रक्रिया पछि कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रङ्खला सुरु भयो ।
एउटा, दुईटा, तीनवटा कति हो कति। अहिले फेरि १४,१५ समुह एकतामा आउन लाइनमा छन्।’
Comments