साढे ११ खर्बको व्यापारघाटा, ८ महिनामा ३८ प्रतिशतले बढ्यो आयात, निर्यातमा ८२ प्रतिशत वृद्धि
Published:
by .काठमाडौ, चालू आर्थिक वर्षको आठ महिनामा नेपालको आयात, निर्यात तथा व्यापारघाटा बढेको छ।
भन्सार विभागको ताजा तथ्यांकअनुसार आयात ३८.६४ प्रतिशत, निर्यात ८२.९० प्रतिशत र व्यापार घाटा ३४.५० प्रतिशतले बढेको देखिएको हो।
विभागका अनुसार आठ महिनामा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरी नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजारको वस्तु निर्यात गरेको हो।
यसअनुसार नेपालको व्यापारघाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ।
गतआर्थिक वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजारको आयात, ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजारको निर्यात गरी ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो।
त्यस्तै यो आठ महिनामा नेपालको वैदेशिक व्यापार पनि ४२.१३ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा वैदेशिक व्यापारको आकार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ।
गतआवमा यस्तो आकार १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख १२ हजार रुपैयाँ रहेको थियो। कुल व्यापारमा निर्यातको हिस्सा २८.६९ प्रतिशतले बढेको छ भने आयातको हिस्सा २.४५ प्रतिशतले घटेको विभागले जनाएको छ।
Comments