१८ औं संस्करणको स्पोर्ट्स अवार्ड आज, यी खेलाडी छन् मनोनयनमा
Published:
by .काठमाडौ, १८ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आज विशेष समारोहकाबीच हुँदैछ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रम दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
यसपटक अवार्डलाई ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागिएको मञ्चले जनाएको छ । संस्करणमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिनेछ । यसपटक युवा वर्ष खेलाडी विधालाई भने हटाइएको छ ।
कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड दिइने मञ्चले जनाएको छ ।
अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयनमा पाँच खेलाडी रहेका छन् । यसपटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल मनोनयनमा परेका छन् ।
अन्य विधाका विजेता भने कार्यक्रमै घोषणा गरिनेछ । अवार्ड कार्यक्रममा पिपल्स च्वाइस, सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक खेलाडी महिला, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड , टिम अफ इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिनेछ ।
यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
अवार्डलाई यसपटक पनि हंसराज हुलासचन्द एण्ड कम्पनीले मुख्य प्रयोजकको रूपमा साथ दिएको छ । अवार्डलाई सूर्य नेपाल प्रालि, ई(सेवा, डिस मिडिया नेटवर्क, केल्मी नेपाल, प्लाजा होटल ग्रुप, रोयल सिंगी होटल, इमेजिङ, नबिल इन्भेस्टमेन्ट बैंकिङ, रुस्लान लगायतको सहप्रायोजन रहेको छ ।
यसका साथै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीले पनि सहयोगी भूमिका निर्वाह गर्नेछन् ।
Comments