बार अध्यक्षमा घिमिरेको अग्रता कायमै
Published:
by .काठमाण्डौ । नेपाल बार एसोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको चुनावको मतगणनामा वृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ ।
घिमिरेले अहिलेसम्म गणना भएकामध्ये नौ सय पाँच मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले चार सय ४७ मत प्राप्त गर्नुभएको छ ।
नेपाल बार एसोसिएशन २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार अहिलेसम्म १३ केन्द्रको मतगणना सम्पन्न भएको छ । तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी, सिरहा, बारा, सुर्खेतको मतगणना सम्पन्न भएको हो ।
अहिलेसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गर्नुभएको समूहको अग्रता रहेको छ । महासचिवमा अहिलेसम्म अन्जिता खनालले आठ सय १३ र केदारप्रसाद कोइरालाले पाँच सय ३१ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा भरतबहादुर राउतले आठ सय ७० र जगतबहादुर कार्कीले चार सय ८६ मत प्राप्त गर्नुभएको छ ।
हिजो मङ्गलवार बिहानदेखि मतगणना सुरु भएको थियो भने बेलुका स्थगित गरेर आज बुधवार बिहान ९ बजेदेखि फेरि मतगणना सुरु गरिएको हो । बारको यही चैत १९ गते काठमाण्डौ केन्द्रसहित देशभर ३५ ठाउँमा मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको चुनावमा नौ हजार सात सय आठ मतदाताले मतदान गरेका थिए । त्यसमध्ये काठमाण्डौ उपत्यकामा पाँच हजार सात सय र उपत्यकाबाहिर तीन हजार पाँच सय मतदाता रहेका थिए । चुनावमा सात हजार चार सय २९ मत मात्र खसेको थियो ।
Comments