Sajhamanch Archive

नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा पुग्ने अवस्थामा छैनः उपाध्यक्ष ढकाल

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by .

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र श्रीलङ्काको बाटोमा पुग्ने अवस्था नभएको बताउनुभएको छ । आज बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलङ्काको बाटोमा भने नपुग्ने बताउनुभएको हो ।

उपाध्यक्ष ढकालले अहिले देशको अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिदैनौँ र स्वदेशी उत्पादनबाट नै रोजगारी सृजना गर्ने, राजस्व सङ्कलन गर्ने, देशमा पूर्वाधारको विकास गर्ने र देशमै उत्पादन भएका वस्तुलाई धेरैभन्दा धेरै उपयोग गर्न नसकेसम्म वास्तविक रुपमा आर्थिक समृद्धि हुँदैन । नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो अवस्थामा पुग्छ भन्ने लाग्दैन । अर्थतन्त्र सुधार गर्ने खालका काम गर्न निजी क्षेत्रलाई आग्रह गर्दछु ।’

त्यस्तै उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताउनुभयो । उहाँले बैंकहरूले तरलता सहज बनाउनका लागि निक्षेपको ब्याज दर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गर्नुभयो । उपाध्यक्ष ढकालले बैंकहरूले जबसम्म व्यवसायले थाम्न सक्ने ब्याज दर हुँदैन तबसम्म व्यावसायिक गतिविधि अगाडि बढ्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री मोती दुगडले देशको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकारले निजी क्षेत्रसँग कुनै छलफलसमेत गर्न नसकेको आरोप लगाउनुभयो । सरकारले पछिल्लो समय उद्योगी व्यवसायीहरूको मनोबल खस्काउने काम गरेको दुगडले बताउनुभयो । सरकारले निजी क्षेत्रलाई हेपेर अपराधीको जस्तो व्यवहार गरेको उहाँको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *