पशुपति क्षेत्र विकास कोषले होटल आनन्द बन्द गरायो
Published:
by .काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गरेको हो ।
झन्डै दुई घण्टाको भनाभनपछि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाएको छ । कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित गरेको छ । गेटमै ताला लगाइएपछि होटलमा पाहुनाभित्र थुनिएका छन् ।
बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका छन् । तर सरकारी प्रतिनिधिले भने आफूहरूले आफ्नो सम्पत्ति हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए । सम्झौताअनुसार काम नभएको भन्दै कोषले गएको चैत १७ मा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । त्यसपछि गएको सोमवार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ ।
Comments