Sajhamanch Archive

कोभिडका कारण दुई वर्षपछि लाग्यो हलेसीमा रामनवमी मेला

Published: in मिडियाबाट साभार, समाज by .

खोटाङ । रामनवमीको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा रामनवमीको अवसरमा आइतबार बिहानदेखि दर्शनार्थीको बाक्लो भिड लागेको हो । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा कोभिड–१९ को महामारीका कारण दुई वर्षपछि रामनवमी मेला लागेको हो ।

कोभिड–१९ को महामारीका कारण हलेसीमा २०७६ र २०७७ सालमा रामनवमी मेला रोकिएको थियो । बिहान झिसमिसदेखि हलेसीमा महादेवस्थानमा दर्शन गर्ने र पूजापाठ गर्ने दर्शनार्थीको बाक्लो भिड लागेको छ । मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा मेला भर्न र दर्शन गर्न स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने गरेका छन् ।

हलेसीमा रामनवमीको अघि र पछि गरी हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । हलेसीमा दर्शन गर्न र मेला भर्न आएका दर्शनार्थीका कारण त्रिपालले ढाकिएका अस्थायी टहरामा राखिएका पसल तथा होटल भरिभराउ भएका छन् । जिल्ला तथा जिल्ला बाहिरका व्यापारी आउने भएकाले हलेसीमा लाग्ने मेला आर्थिक विनिमयको केन्द्रका रूपमा स्थापित छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *