Sajhamanch Archive

निष्पक्ष निर्वाचनको वातावरण बनाउन आचारसंहिताको पालनामा जोड

Published: in विविधा, समाज by .

भद्रपुर । शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनु पर्नेमा बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियाका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्वतन्त्र, निष्पक्ष, भयरहीत र शान्तिपूर्ण वातावरणमा मतदाताले निर्वाचनमा भाग लिन पाउने वातावरणले मात्र लोकतन्त्र बलियो हुने बताए । कहिँकतै आचार संहिता उल्लंघन भएको भए खबरदारी गर्न र सम्बन्धित ठाउँमा समयमा नै जानकारी गराउन समेत प्रजिअ रिजालले सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले निर्वाचनको तयारी लगायतका विषयमा जानकारी गराउँदै निर्वाचन आचारसंहिता उल्लंघन रोक्न कडाइ गरेने जानकारी दिए ।

अन्तरक्रियाको विषयमाथि धारणा राख्दै पत्रकार महासंघ झापाका निवर्तमान अध्यक्ष तारामणि सापकोटाले मिडियाको मौनताले निर्वाचन आचारसंहिताको उल्लंघन बढ्नसक्ने भन्दै खबरदारी गर्न आग्रह गरेका थिए ।

अग्रज पत्रकार तथा महासंघका पूर्व केन्द्रीय सदस्य लीला बरालले निर्वाचनका बेला जिल्लाका विविध समस्याका मुद्दालाई मिडियाले अझ महत्वका साथ उठान गर्नुपर्ने अवस्था रहेको जनाए ।

अन्तरक्रियामा पत्रकारहरु दिपिन राई, गणेशमान मुखिया, अम्बिका भण्डारी, ज्ञानेन्द्र निरौला, विनोद पाण्डे, प्रेम आचार्य, पुष्प बराल, डिल्लीराम घोर्साइ, द्रोण अधिकारी लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *