बिजुली व्यापारमा फड्को– ऊर्जामा सहकार्य गर्न बिमस्टेक मुलुक सहमत
Published:
by .काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक आज सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकमा बिजुली व्यापारमा महत्वपूर्ण सफलता मिलेको छ । बैठकमा ऊर्जा व्यापार सहजीकरण, ‘ग्रीड कनेक्सन’ गुरुयोजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्न बिमस्टेक मुलुक सहमत बनेका हुन् ।
बैठकमा ग्रिड अन्तर सम्बन्ध कार्यान्वयन तथा आवश्यक कार्ययोजना तयार गर्न र ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन कोअर्डिनेशन कमिटी’ स्थापना गर्न सहमति भएका ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । एसियाली विकास बैंकको सहयोगमा बिमस्टेक ग्रीड पारस्परिक जडान समन्वय समितिसम्बन्धी गुरुयोजना बनाउन पनि बैठक सहमत भएको छ ।
त्यसैगरी ऊर्जा व्यापारका लागि नीति एवं ट्यारिफ प्रणाली विकास गर्न पनि बैठकले स्वीकार गरेको छ । बिमस्टेक राष्ट्रहरूबीच ऊर्जाको व्यापार कसरी गर्ने भन्ने विषयमा सहकार्यको योजना बनाउन विशेषज्ञसहित समूह विकास गर्न पनि समझदारी भएको छ । त्यसैगरी बैठकले ऊर्जासम्बन्धी अनुसन्धानका लागि र सदस्य राष्ट्रहरूबीच अनुभव आदानप्रदान एवं सहकार्यलाई सबल बनाउन बिमस्टेक ऊर्जा केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको छ । रातोपाटी अनलाईन खबरबाट ।
Comments