इन्डोनेशियामा भूकम्पपछि सुनामीः चार सय बढिको मृत्यु
Published: (Updated: )
by .शुक्रबार इन्डोनेशियाली द्वीप सुलावेसीमा ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या चारसय बढी पुगेको छ ।
मृत्यु हुनेमध्ये सबैभन्दा धेरै पालू शहरका हुन् । यो शहरमा शुक्रबार करिब १० फिट अग्लो छाल प्रवेश गरेको थियो ।
पालू शहरबाट आइरहेको तस्बिरमा छरिएका सयौं शवलाई स्पष्ट देख्न सकिन्छ ।
सरकारी अधिकारीका अनुसार शहरको सबैभन्दा ठूलो अस्पताल पनि क्षतीग्रस्त भएको छ । यस कारण अस्थायी शिविरमा घाइतको उपचार चलिरहेको छ ।
इन्डोनेशियाली सेनाले स्थानीय हवाई अड्डामा पनि आशिंक क्षती पुगेका कारण मद्दतका लागि पालू शहरसम्म पुग्न समस्या भइरहेको जानकारी दिए ।
आफूहरुले लगातार राजधानी जकार्तादेखि सुलावेसी द्वीपमा सैन्य मद्दत पुर्याउने कोशिश गरिरहेको इन्डोनेशियाली सेनाले जानकारी दिएको छ ।
इन्डोनेशियाली सरकारले शनिबार पनि भूकम्पका धक्का महसुस गरिएको जानकारी दिएको छ । हज्जारौं घरमा क्षती पुगेको छ । केही अस्पताल, होटल र शपिङ सेन्टर पनि क्षतीग्रस्त भएको छ ।
सुनामी आएको पालू शहरको जनसंख्या करिब तीन लाख बताइएको छ ।
यहाँका एक मन्त्रीका अनुसार शहरमा उद्दारकार्य जारी छ । पालूमा टेलिफोन र बिजुलीको आपूर्ती बन्द छ । साथै शहर जाने मुख्य सडक भूस्खलनका कारण भास्सिएको छ ।
पछिल्लो एक महिनामा इन्डोनेशियामा थुप्रै भूकम्प आइसकेका छन् । गत अगस्ट ५ तारिखमा इन्डोनेशियाको लामबोकमा आएको भूकम्पका कारण चार सय ६० बढीको मृत्यु भएको थियो ।
सन् २००४ मा इन्डोनेशियाको सुमात्रा द्वीपमा भूकम्प आएपछि हिन्द महासागर मा सुनामी आएको थियो जसमा दुई लाख २६ हजारको मृत्यु भएको थियो ।
त्यतिबेला इन्डोनेशियामा मात्र करिब सवा लाखको मृत्यु भएको थियो ।
Comments