तराईमा तातो हावाले जनजीवन प्रभावित
Published:
by .बाँके । बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा दैनिक गर्मी बढ्दैसँगै लु–लाग्न सुरु भएको छ। दिउँसो १२ बजेदेखि २ बजेसम्म लु–लाग्ने गरेको हो। दिउँसो तातो लु अर्थात तातो हावा चल्दा यहाँको दैनिकी कष्टकर हुँदै गएको छ। दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा लाग्ने गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ।
तातो हावा चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको छ। पश्चिम तराईका जिल्लामध्ये सबैभन्दा बढी तापक्रम भैरहवामा रह्यो। आइतबार यहाँको तापक्रम ४० डिग्री सेल्सियस रह्यो। यो तापक्रम देशका अन्य क्षेत्रभन्दा पनि बढी हो।
त्यस्तै नेपालगन्जको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्यो। यो सिजनमा यहाँ ४० डिग्रीसम्म तापक्रम पुगेको थियो। यसभन्दा अघि नेपालगन्जमा ४५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको रेकर्ड छ। यता सुदूरपश्चिमको राजधानी धनगढीमा तापक्रम ३८.७ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले जनाए।
उनका अनुसार दैनिक तराई तथा पहाडी जिल्लामा तापक्रम बढ्दो छ। नेपालगन्जसहित तराईका केही जिल्लामा तातो हावा चल्न थालेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख पराजुलीले जनाए। ‘तातो हावा सुरु भइसकेको छ,’ उनले भने, ‘यसलाई लु भनेर घोषणा गरिएको छैन।’
दैनिक चार–पाँच घण्टा तातो हावा चल्यो भने लु भन्न मिल्ने उनको भनाइ छ। उनका अनुसार यहाँ दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा चल्ने गर्छ। पश्चिम तराईमा गर्मी बढेसँगै सावधानीपूर्वक घर बाहिर निस्किनु पर्ने उनी बताउँछन्।
‘
Comments