Sajhamanch Archive

अप्रिलमा नेपाल आउने पर्यटकको सङ्ख्या झन्डै १६० प्रतिशतले बढ्यो

Published: in मिडियाबाट साभार, समाज by .

काठमाण्डौ । अप्रिल महिनामा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै एक सय ६० प्रतिशतले बढेको छ । यस वर्षको अप्रिल महिनामा ५८ हजार तीन सय ४८ जना विदेशी पर्यटक आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। यस वर्ष नेपाल आउने पर्यटकमा २२ हजार चार सय ७७ जना भारतीय नागरिक छन् भने बाँकी तेस्रो देशका नागरिक हुन् ।

अघिल्लो वर्ष अर्थात सन् २०२१ को अप्रिल महिनामा २२ हजार चार सय ५० जना आएका थिए । यस्तै सन् २०२० को अप्रिल महिनामा १४ जना मात्रै विदेशी पर्यटक आएका थिए ।कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटन व्यवसाय प्रभावित भएको थियो । यस वर्षदेखि पर्यटन व्यवसायमा सुधार देखिएको छ । यस वर्षको अप्रिलमा आएका पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा भने ५३ प्रतिशतले कम हो ।

सन् २०१९ को अप्रिल महिनामा एक लाख नौ हजार तीन सय ९९ जना पर्यटक नेपाल आएका थिए । यो तथ्याङ्क विमानमार्फत नेपाल आउनेहरुको हो । यो वर्ष पर्वतीय पर्यटनमा सबैभन्दा बढी उत्साह देखिन्छ । यस वर्षको वसन्त याममा नेपालका २५ वटा हिमाल आरोहणका लागि आठ सय ९९ जनाले अनुमति लिएका छन् । यो सङ्ख्या सन् २०१९ को भन्दा पनि धेरै हो । हिमाल आरोहणका लागि आएका ७४ देशका नागरिकमध्ये सबैभन्दा धेरै अमेरिकाका एक सय ३३ जना रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *