इन्टरनेट ब्यान्डविथ आयातको शुल्क भुक्तानी गर्ने बाटो खुल्यो
Published:
by .काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई विदेशमा ब्यान्डविथ आयात गरेबापतको शुल्क भुक्तानीका लागि डलरको सटही सुविधा दिने भएको छ । योसँगै इन्टरनेट सेवा प्रदायकहरुले घोषणा गरेअनुसार आगामी सातादेखि इन्टरनेटमा अवरोध नगर्ने भएका छन् ।
सरकारले बेरुजुको कारण देखाएर सटही सुविधा रोक्दा नेपालमा इन्टरनेट ब्यान्डविथ बेच्दै आएका भारत टाटा र एयरटेल कम्पनीबाट आपूर्ति रोक्न सक्ने चेतावनी दिएका थिए । त्यसैका आधारमा इन्टरनेट सेवा प्रदायकले पनि सेवा रोक्ने भन्दै आन्दोलनको घोषणा गरेका थिए । ५ महिनादेखि ब्यान्डविथ आयात गरेबापतको शुल्क नतिरेपछि भारतीय विक्रेता कम्पनीबाट चेतावनीयुक्त पत्र आउन थालेको इन्टरनेट नेटवर्क सेवा प्रदायकहरुको भनाइ थियो ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अब डलरको सटहीका लागि सिफारिस गर्ने सहमति भएको छ । सहमति लिखित नभएपनि अब रोकिएको रकमको भुक्तानी गर्न बाटो खुलाउने र सेवा प्रदायकले बेरुजुको व्यवस्थापन गर्ने गरी समझदारी बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४–७५मा सेवा प्रदायकबाट उठाउनुपर्ने गरी औंल्याएको बेरुजु रकम नतिरेसम्म सटहीको सिफारिस नदिने बताउँदै आएको थियो ।
५ महिनादेखि सिफारिस रोकिएपछि मासिक ५० करोडसम्म भारतमा पठाउन रोकिएको सेवा प्रदायकको दाबी छ । कम्पनीहरुले करिब दुई–साढे २ अर्ब रुपैयाँ भुक्तानी पठाउन नपाएको अनुमान छ । महालेखाले तिर्नुपर्ने भनेको बेरुजुलाई कटौती गर्ने गरी संसदको प्रविधि तथा विकास समितिबाट निर्देशन भइसकेको अवस्थामा इन्टरनेटको भुक्तानी रोकेर राख्नु उचित नुहने सेवा प्रदायकको तर्क थियो ।
इन्टरनेटको मर्मत शुल्कबापत कमाएको पैसामा रोयल्टी र ग्रामीण दूरसञ्चार शुल्क नतिरेपछि महालेखाले बेरुजु औंल्याएको थियो । नेपालमा प्रायः इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेल र टाटाबाट इन्टरनेट ब्यान्डविथ किन्छन् । लामो सयमसम्म ठूलो रकम नेपालमै रोकिएपछि भारतीय कम्पनीहरुले छिटो शुल्क भुक्तानीका लागि दबाव बढाएका थिए ।
Comments