Sajhamanch Archive

झापाका ६ वटा वडामा काँग्रेस र ५ मा एमाले विजयी

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

झापा । झापामा धमाधम मतगणना भइरहेको छ । १५ वटै स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

१५ स्थानीय तहमध्ये कतै गठबन्धन, कतै एमाले र कतै राप्रपा अगाडि छन् । कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापा अगाडि छन् । उनी नेपाली काँग्रेसका बागी हुन् । झापामा कतिपय स्थानीय तहमा शुक्रबार रातिबाटै मतगणना सुरु भयो भने कतिपयमा शनिबार बिहान मात्र सुरु भयो । हालसम्म गणना सुस्त छ । झापामा हालसम्म ११ वटा वडामा अन्तिम मतपरिणाम आएको छ । जसमध्ये ६ वटा वडामा काँग्रेस र पाँचवटा वडा एमालेले जितेको छ ।

काँग्रेसबाट कचनकवल–१ मा काँग्रेसका महावीर लिम्बू निर्वाचित भएका छन् । यहाँ काँग्रेसले प्यानल नै जितेको हो । भद्रपुर–२ मा पनि काँग्रेस निर्वाचित भएको छ । यहाँ वडाध्यक्ष रामबहादुर कँडेल निर्वाचित भएका छन् । अन्य सदस्य पदमा भने एमालेले जित निकालेको छ । यस्तै, कनकाई–८ मा पनि काँग्रेस निर्वाचित भएको छ । यहाँ काँग्रेसका लीलाबहादुर कटुवाल निर्वाचित भएका छन् । बाह्रदशी–१ र २ मै काँग्रेस निर्वाचित भएको छ । बाह्रदशी–१ मा काँग्रेसका टेकबहादुर राजवंशी निर्वाचित भएका छन् । बाह्रदशी–२ मा कांग्रेसका भीमबहादुर कार्की विजयी भए ।

कमल–१ मा पनि काँग्रेसले प्यानल नै जितेको छ । कमल–१ मा काँग्रेसका केदार कटुवाल विजयी भए । अर्जुनधारा–१ मा पनि काँग्रेस निर्वाचित भएको छ । यहाँ काँग्रेसका उपेन्द्र बस्नेत निर्वाचित भएका हुन् । यस्तै, एमाले ५ वटा वडामा निर्वाचित भएको छ । कचनकवल–२ मा एमालेका लेखनाथ खत्री निर्वाचित भएका छन् । भद्रपुर–१ मा एमालेका रामप्रसाद अधिकारीको प्यानल नै विजयी भएको छ । शिवसताक्षी–१ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ विजयी भएका छन् । दमक–१ मा एमालेका हरि न्यौपानेको प्यानल नै विजयी भएको छ । गौरीगञ्ज–१ मा एमालेका परशुराम काफ्ले विजयी भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *