झापाका तीन पालिकामा मतगणना ठप्प
Published:
by .झापा । झापाको गौरीगञ्ज, शिवसताक्षी र कमलमा रोकिएको मतगणना अझै सुचारु हुन सकेको छैन । विवादका कारण शिवसताक्षी र गौरीगञ्जको मतगणना अस्तिदेखि अवरुद्ध भएकोमा हिजोदेखि कमलको मतगणना पनि रोकिएको छ ।
कमल ४ को मतगणनाको नतिजामा निर्वाचन कार्यालयका कर्मचारीले गलत विवरण घोषणा गरेको भन्दै गठबन्धन दलले विरोध जनाएपछि गणना कार्य रोकिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले हिजो दिउँसो मतपरिणाम सार्वजनिक गर्दा गणकको तथ्यांकभन्दा बढी एमालेको मत घोषणा गरेको थियो । त्यस तथ्यांक गणकको संकलित विवरणसंग नमिलेपछि गंभीर लापर्वाही बाहिर आएको नेपाली कांग्रेस क्षेत्र ५ का सचिव धर्मानन्द भट्टराईले बताए ।
कर्मचारीको मिलोमतोमा गठबन्धनलाई हराउने उद्देश्यले त्यस्तो षडयन्त्र भएकाले जारी गणना स्थगित गरी पुनः गणना गरिनु पर्ने उनको भनाई छ । गठबन्धनका उम्मेदवारले उक्त गणनामा खटिएका कर्मचारीलाई कार्वाही तथा वडा ३ र ४ को पुनः गणना गर्नुपर्ने माग अघि सारेका छन् । त्यहाँ एमालेका उम्मेदवारले अग्रता लिँदै आएका थिए ।
त्यस्तै गौरीगञ्जमा खसेको मतभन्दा एक सय ७३ मत बढी देखिएको भन्दै दलहरुले मतगणनास्थल सिल गरेका छन् । त्यहाँ अस्ति रातिदेखि नै विवाद छ । त्यस्तै अस्ति रातिदेखि रोकिएको शिवसताक्षी नगरपालिकाको मतगणना पनि सुचारु हुन सकेको छैन । शिवसताक्षी–१ मा मतदानको दिन खसेको मत र मतगणना गर्दा मतपत्रको संख्या फरक भएपछि विवाद भएको हो ।
त्यहाँको मतगणनामा विवाद भएपछि निर्वाचन अधिकृतलाई कारबाही गरिएको छ । कारबाहीस्वरुप शिवसताक्षीमा खटिएका निर्वाचन अधिकृत ऋषि पौडेललाई फिर्ता बोलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तर पनि मतगणना सुचारु हुन सकिरहेको छैन । सर्वदलीय बैठक राखेर ती तीनै पालिकाको विवाद मिलाउने प्रयास भइरहेको निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले बताए ।यी तीन पालिकाबाहेक जिल्लाका १२ पालिकामा भने मतगणना जारी रहेको उनले जानकारी दिए ।
Comments