काँकडभिट्टा नाकाबाट ३० तोला सुनसहित एक युवक पक्राउ
Published:
by .झापा । झापाको काँकडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन् । सुनसहित पक्राउ पर्नेमा कैलाली जिल्ला जानकी गाउँपालिका ५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३ वर्षीय धिरेन्द्रप्रसाद जैसी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । मेचीनगर ६ काँकडभिट्टास्थित मेची पुल नजिकै लागु औषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले विशेष सूचनाको आधारमा जैसीलाई सुनसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आइरहेका जैसीमाथि शङ्का लागेर प्रहरीले खोजतलास गर्दा उनले लगाएको जुत्ताभित्र १० १० तोला तौल भएको तीन वटा बिस्कुट आकारको सुन भेटिएको डिएसपी थापाले बताए । बरामद गरिएको सुनको नेपाली बजार मुल्य २८ लाख रुपैयाँ रहेको छ । पक्राउ परेका जैसी पश्चिम बङ्गालको सिलीगुढी पुगेर आएको बताइएको छ । उनले त्यहीबाट सुन लिएर आएको हुन सक्ने प्रहरीको अनुमान छ । उनको विषयमा थप अनुसन्धान भइरहेको छ । यता पक्राउ परेको जैसीलाई सुनसहित आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइसकेको डिएसपी पाठकले बताए ।
Comments