Sajhamanch Archive

झापाका स्थानीय सरकारलाई ११ बुँदे महत्वपूर्ण सुझाव

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह, by .

झापाका १५ वटै पालिकामा स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको टुंगो लाग्यो । सबै ८ वटै नगरपालिकामा प्रमुख–उपप्रमुख र ७ वटै गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष सहित १३१ वडामा जनप्रतिनिधिहरु बहाल भएका छन् । सबै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मनैबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।

आदरणीय पालिकाका नवनिर्वाचित जनप्रतिनिधिज्यूहरु,
हाम्रो जिल्लाका स्थानीय सरकारहरु,

तपाईंको पालिकामा अतिआवश्यक साधन दमकल छ कि छैन ? सायद धेरैवटा पालिकामा छैन । किनकि एउटा दुईवटा दमकल किन्न तपाईंको पालिकामा बजेट नभएर किन्नै नसकेको होइन भन्नेमा म विश्वस्त छु । ५ वर्षको कार्यकालमा निवर्तमान जनप्रतिनिधिहरुले दमकल किन्न सकेनन् भनेर धेरै आलोचना पनि भएको सुनिन्छ । तर आगलागी हुँदा प्रयोग गरिने दमकल किन्नभन्दा पाल्न गाह्रो हुने साधन हो ।

एउटा दमकलमा कम्तीमा ४ जना ‘फयरफाइटर’ राख्नुपर्छ । एकजना फयरफाइटरको मासिक तलब कम्तीमा ३५ हजार र पोशाकलगायत अन्य सुविधा गणना गर्दा वर्षमा उसले ५ लाख रुपैयाँ बुझ्छ । एउटा दमकलका लागि ४ जनालाई २० लाख रुपैयाँ पारिश्रमिकमा र सुविधामा खर्च हुने निश्चित छ । अनि दमकलको मर्मत सम्हार, तेल लगायतमा पनि खर्च हुने नै भयो । यो सबै खर्च पालिकाको लागि अत्यन्त बोझिलो बन्दै गएको पाइन्छ ।

एउटा दमकल कै यति ठूलो खर्च आउँछ भनेर के अब पालिकाहरुमा दमकल नै चाहिँदैन भन्ने हुन्छ र ! होइन । त्यसैको चिन्तनका लागि यहाँ एउटा प्रस्ताव गरेको छु । सुझाव उपयुक्त ठान्नुभएमा विस्तृत कार्ययोजना बनाउन अग्रसर रहने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।

१. जिल्लाका सबै पालिकामा हालसम्म जति पनि मेसिन औजारहरु खरिद गरिएका छन्, तिनको समुचित उपयोग र व्यवस्थापनका लागि एउटा छुट्टै निकायको गठन गर्ने ।

२. सबैलाई प्रस्ताव उपयुक्त हुन्छ जस्तो लागेमा यस्तो निकाय जिल्ला समन्वय समितिको मातहतमा राख्ने ।

३. दमकल, डोजर, ग्रेडर, रोलर जस्ता साधनहरु झापा जिल्लाको तीनवटा भूगोलमा केन्द्रित गरेर त्यहाँबाट परिचालन गर्ने संयन्त्रको निर्माण गर्ने ।

४. दमकलको उपयोग सबै समयमा हुँदैन । आगलागी भएको स्थानमा छिटो पुग्ने गरी जिल्लाका तीन भूगोलमा केन्द्रित गर्ने ।

५. हरेक पालिकामा दमकलको सेवा प्रवाह गरिने भएकाले सबै पालिकाले निश्चित वार्षिक बजेट विनियोजन गर्ने र तोकिएको निकायमा प्रदान गर्ने ।

६. हाल भइरहेका दमकलहरुको मर्मत सम्हार गर्ने र कन्डिसनमा राख्ने । आवश्यकता अनुसार थप्दै पनि लैजाने ।

७. यसो गर्दा दमकल पालिरहेका बिर्तामोड, दमक, भद्रपुर, मेचीनगर आदि पालिकाहरुको पारिश्रमिक लगायतको खर्च स्वतः घट्ने छ । उक्त खर्च संयन्त्रमार्फत् कर्मचारीले पाउनेछन् ।

८. जिल्लाभरको संयन्त्रले दमकल पाल्ने भएपछि शिवसताक्षीजस्तो पालिकामा दुई दुई पटक भयंकर आगलागी हुँदा दमकल नपाएर मानिसले ज्यान गुमाउनु परेको घटना जिल्लामा सायदै दोहोरिन पाउँदैनन् ।

९. यसैगरी, हाल कतिपय पालिकाहरुमा बिना अनुमति ग्रेडर, लोलर, डोजरसहित अन्य मेसिन औजारहरु दुरुपयोग भइरहेको घटनामा कमी आउँछ । तिनै सवारीहरु सिस्टममा भाडामा लगाएर आम्दानी पनि लिन सकिन्छ ।

१०. एकीकृत प्रणालीमा जाउँ, दमकलको उपयोग जिल्लाभरि हुनेगरी केन्द्रित गरौं । अन्य मेसिन औजारहरु भाडामा लगाउँ र आम्दानी पनि लिउँ ।

११. कुनै पालिका एक्लैले एउटा दुईवटा दमकल पाल्न सक्दैन तर सबै मिलेर बजेटको व्यवस्थापन गरौं र जिल्लाभर सेवा प्रवाह गरौं । स्थानीय सरकाहरुले कम्तीमा एउटा महत्वपूर्ण निर्णय गर्न ढिलाई नगरौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *