Sajhamanch Archive

पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी

Published: in अर्थतन्त्र by .

काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ । रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा परेको चापलाई कम गर्न पूर्वाधार कर हटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यही जेठ १० गतेको बैठकले कर समायोजन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । प्रतिनिधि सभाको आज शुक्रवारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गर्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक निर्णय गरेको जानकारी दिएको छ ।

अघिल्लो सरकारले पूर्वाधारको विकासमा जोड दिने भन्दै इन्धनमा प्रतिलिटर १० रुपैयाँ बराबरको कर उठाउने निर्णय गरेको थियो । सुरुमा बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनेर प्रतिलिटर पाँच रुपैयाँका दरले कर उठाइएको थियो । तत्कालीन सरकारको निर्णयअनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधारको विकासका लागि प्रतिलिटर पाँच रुपैयाँ थप कर उठाउने निर्णय भएको थियो ।

बूढीगण्डकीको नाममा मात्रै सरकारले ७० अर्ब रुपैयाँभन्दा बढी सङ्कलन गरिसकेको छ । पूर्वाधार करका नाममा उठेको रकम सोझै सरकारको राजस्व खातामा जम्मा हुने गरेको छ । मन्त्रिपरिषद्ले कर समायोजनका सम्बन्धमा निर्णय गरेको भए पनि अर्थ मन्त्रालयले आवश्यक निर्णय गर्नुपर्नेछ । अर्थ मन्त्रालयले त्यस सम्बन्धमा विचार गरिरहेको समेत मन्त्री बडूको भनाइ छ । नेपाल आयल निगमले अहिले पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँमा बिक्री गरिरहेको छ ।

लगातार मूल्यवृद्धि भएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । मन्त्री बडूले भने आन्तरिक कारणले नभइ अन्तर्राष्ट्रिय कारणले पेट्रोलियम पदार्थको मूल्य आकाशिएको जानकारी दिएका छन। सरकारको पछिल्लो निर्णयका आधारमा अर्थ मन्त्रालयले उपयुक्त निर्णय गर्ने जनाएको छ । समाचार उज्यालो अनलाइन खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *