शिवसताक्षीका ५ वडाध्यक्षद्वारा पदभार ग्रहण, के भयो पहिलो निर्णय
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षीका ६ ओटा वडाका अध्यक्षले पद भार ग्रहण गरेका छन् । यही बैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित शिवसताक्षी नगरपालिका वडा नं. ३, ६, ७, ८ र ९ नं.का वडाध्यक्षहरुले आज कार्यभार सम्हालेका छन् ।
वडा नं. ३ का वडाध्यक्ष भाष्कर न्यौपाने, वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्की, वडा नं. ७ वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्ग, वडा नं. ८ अध्यक्ष सन्त फेवदिन र वडा नं. ९का अध्यक्ष डिल्लीलाल फेम्बूले आजबाट कार्यभार सम्हालेका हुन् ।
पद भार ग्रहण गर्ने क्रममा वडा नं. ३, ७ र ९ ले पहिलो बैठकबाट वडाका अति विपन्न र अशक्त अपाङ्गलाई निशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय गरिएको छ । वडामा रहेका विपन्न, अशक्त र अपाङ्ग परिवारका १ सय जनालाई वडाले निशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय भएको वडा कार्यालयले जनाएको छ ।
त्यस्तै वडा नं. ६ ले वडामा रहेका मधुमेहका विरामीहरुलाई निशुल्क चेकजाँच, टिभी तथा निमोनियाका विरामीहरुलाई निशल्क एक्सरे र गर्भवती महिलाहरुलाई निशुल्क चेक जाँच गर्ने निर्णय भएको छ । वडामा भएको प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त विरामीहरुलाई निशुल्क सेवा दिन व्यवस्था मिलाइने वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । उनका अनुसार शिवसताक्षी वडा नं. ६ मा बन्दै गरेको अस्पतालको निर्माण कार्य पुरा भएपछि विरामीहरुले त्यहाँबाट पनि सुविधा लिन सक्ने छन् ।
त्यस्तै वडा नं. ८ ले विपन्न, अशक्त, अपाङ्गहरु गरी १ सय जनालाई निशुल्क विमा, विपन्न परिवारका सदस्यहरु मृत्यु भएमा वडाको तर्फबाट ५ हजार सहयोग, तथा विपन्न परिवारका सदस्यहरु सुत्केरी भएमा ५ हजार सहयोग उपलब्ध गराउने निर्णय भएको ८ नं. वडा कार्यालयका सचिव पुष्प पाण्डेले जानकारी दिए ।
Comments