भद्रपुरको महेन्द्र पार्कमा सालिक पुर्नस्थापनाको बारेमा विवाद, अन्नतः प्रशासनले लगायो रोक
Published:
by .विर्तामोड । झापाको भद्रपुर–८ स्थित महेन्द्र पार्क चन्द्रगढीमा पूर्व राजा महेन्द्र शाहको अर्धकदको सालिक पुर्नस्थापना गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले बिना अनुमति अनधिकृत रुपमा त्यहाँ पूर्व राजा महेन्द्रको सालिक पुर्नस्थापना गर्न नदिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको उपस्थितिमा भएको सर्वदलीय बैठकले भद्रपुर नगर क्षेत्रमा रहेका सार्वजनिक स्थल तथा पार्कहरूको संरक्षण र सौन्दर्यीकरण गरी सोको उपयोग सम्बन्धमा भद्रपुर नगरपालिकाले नगर सभाबाट निर्णय गरेर कार्यान्वयन गर्ने , नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिक स्थल र पार्कहरूमा अनधिकृत रुपमा संरचना निर्माण, रंगरोकन ,सालिक निर्माण , अतिक्रमण जस्ता कार्य हुन नदिने सम्बन्धमा नगरपालिकालाई आवश्यक परेमा स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको हो ।
स्वतन्त्र युवा समूह नामक संस्थाले जीर्ण बन्दै गएको महेन्द्र पार्कलाई रंगरोकन गरी सालिक भत्काइएको ठाउँमा महेन्द्रको अर्को सालिक पुर्नस्थापना गर्न खोजेको थियो । जेठ २१ गते सालिक राख्ने कार्यक्रम रहेको थियो । बिर्तामोडका जयनारायण ढुङ्गानाले त्यस कामको लागि आर्थिक सहयोग गर्न खोजेका थिए । भद्रपुरका जनप्रतिनिधिहरूलाई समेत जानकारी नदिई सालिक राख्न खोज्दा सर्वदलीय बैठकमार्फत निर्णय गरी रोक्नु परेको उपप्रमुख राधा कार्कीले बताइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा सो कार्य गर्न लागेको भनिएकोमा आफूसँग सल्लाह नभएको उनले जानकारी दिइन् । महेन्द्रको सालिक भत्काइएको ठाउँमा आआफ्ना पार्टीका नेताहरूको सालिक राख्नुपर्ने पार्टी प्रतिनिधिहरूले सर्वदलीय बैठकमा जोड दिएका थिए ।
भूमिगतपछि खुल्ला राजनीतिमा आएका माओवादी कार्यकर्ताहरूले महेन्द्र पार्कमा रहेको महेन्द्रको सालिक भत्काएका थिए । त्यसपछि सो पार्क संरक्षणविहीन बनेको छ । यसैबीच राप्रपाका बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलले स्वतन्त्र राष्ट्रवादी युवाहरूले महेन्द्र पार्कमा सरसफाइ र रंगरोकन गरेर राजा महेन्द्रको सालिक पुर्नस्थापना गर्न लागेको बेला भद्रपुरका मेयर गणेश पोखरेलले ठाडो आदेशमा रोक्न लगाउनु जनभावना विपरीत अत्यन्तै गलत निर्णय भएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । अहिले पार्कमा सालिक पुनर्स्थापनाको विषयमा सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै टिप्पणी भइरहेको छ ।
Comments