एलपी ग्यासमा दुई थरी मूल्य लागू गर्ने तयारीमा निगम
Published:
by .झापा । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दुई थरी मूल्य लागू गर्ने तयारी गरेको छ । सर्वसाधारण व्यक्तिलाई राहत दिन दुई थरी मूल्य निर्धारण गर्न लागिएको हो । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले घरायसी प्रयोजनका लागि हालकै मूल्य र व्यापारिक प्रयोजनका लागि परल मूल्य लागू गर्न लागिएको जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण व्यक्ति पहिचान गरेर राहत दिइने र व्यापारिक प्रयोजनका लागि खरिद मूल्यमै बिक्री गर्ने तयारी गरिएको थानीले जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत एलपी ग्यासको उपभोगमा सर्वसाधारण जनताको घरायसी एवं व्यापारिक प्रयोगका लागि अलगअलग मूल्य कायम गर्ने घोषणा गरेको छ ।
यसअघि तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले ग्यासमा घरायसी प्रयोजनका लागि रातो र व्यापारिक प्रयोजनका लागि नीलो सिलिन्डर लागू गर्ने निर्णय गरे पनि यसको प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन ।
Comments