Sajhamanch Archive

मेची भन्सारबाट जाँचपास गराएर निस्किएको तीन वटा भारतीय ट्रक राजश्वको नियन्त्रणमा

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट जाँचपास गरी राजश्व तिरेर छुटेका भारतीय नम्बर प्लेट भएका तीन वटा ट्रक राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट काँकडभिट्टा र राजस्व अनुसन्धान इटहरीको संयुक्त टोलीले तीन वटा ट्रक जेठ २२ गते राती पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगरस्थित जोरसिमलबाट नियन्त्रणमा लिएको हो ।

कम भन्सार मूल्याङ्कन र प्रज्ञापनपत्रमा भए भन्दा फरक सरसामान भएको कारण ती ट्रकहरू नियन्त्रणमा लिएको बुझिएको छ । नियन्त्रणमा लिएका ट्रकहरू डब्लुबी ३७ वि ७३९३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० रहेका छन् । लालिगुँरास ट्रेडर्सको नाममा प्रज्ञापन रहेको उक्त ट्रकहरूमा क्रमशः ६ हजार ५ सय ९३, ६ हजार ५ सय ९३ र ६ हजार ५ सय ५३ रुपैयाँ भन्सार दाखिला भएको रसिद काटिएको छ ।

ट्रकहरूमा भन्सार भएको भन्दा फरक बस्तु भएको सूचनाको आधारमा नियन्त्रणमा लिई चेकजाँच गर्दा कैफियत भेटिएको सशस्त्र प्रहरी २ नम्बर गण झापाका प्रवक्ता डिएसपी प्रेम भण्डारीले जानकारी दिए । उनका अनुसार आलु भनेर भनिएको ट्रकमा एउटामा बिरुवा तथा अन्य दुईमा आलु रहेको छ । विगतमा समेत यस्ता कैफियतहरू भेटिएको र त्यसको ठोस अनुसन्धान नभएको भन्सार स्रोतले बताएको छ ।

गत जेठ ९ गते प्रदेश नं १–०१–००१ च ७८८६ नम्बरको पिक अप सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट काँकडभिट्टाले नियन्त्रणमा लिएको थियो । उक्त गाडीको र प्रज्ञापनमा भएको नम्बर नै फरक भएपछि उक्त पिक अप नियन्त्रणमा लिइएको डिएसपी भण्डारीले बताए । उनका अनुसार प्रज्ञापनपत्रमा उल्लेख भएको गाडी नम्बर मे १ च ५२०२ हो तर, प्रदेश नं १–०१–००१ च ७८८६ नम्बरको गाडीमा सामान बोकेर ल्याइएको थियो ।

यता घटनाको विषयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थ खनालसँग बुझ्न खोज्दा उनको दुवै मोबाइल बन्द छ । उनले प्रयोग गर्ने व्यक्तिगत र कार्यालय प्रयोजनको मोबाइल समेत बन्द राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *