Sajhamanch Archive

तनहुँमा चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका घाइते

Published: in समाज by .

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा हिजो बेलुका एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते बालिकाको डुम्रेमा रहेको मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुई वटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उनले बताए । मेडिकलका डा महेश विक नेतृत्वमा बालिकाको उपचार गरिएको छ ।

बुवाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन् । त्यही बेला चितुवाले आक्रमण गरेको र बुबाआमा दौडिएर आउनेबित्तिकै चितुवा भागेको जनाइएको छ ।

पछिल्लो केही वर्षयता जिल्लाका विभिन्न पालिकामा चितुवाको आतङ्क छ । सबैभन्दा बढी आतङ्क भानु नगरपालिकामा छ । चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले बेलुकाको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *