Sajhamanch Archive

मल अभावको सकस चुलिएका बेला नेपाली बजारमा आयो तरल युरिया

Published: (Updated: ) in विविधा, समाज by .

झापा । मल अभावको सकस उच्च भएका बेला विराटनगरस्थित एउटा व्यापारिक प्रतिष्ठानले ‘लिक्विड युरिया’ बजार पठाउने तयारी गरेको छ। नेपालमा हरेक वर्ष खेतीपातीको मुख्य सिजनमै मल अभावको सकस हुने गरेको छ।

यसपटक पनि धान रोप्ने सिजन सुरू हुनैलाग्दा मल अभावको समस्या दोहोरिएको छ। मल अभावकै विषयले प्रतिनिधि सभामा पनि सबै दलहरूको ध्यानाकर्षण गराएको छ।

नेपालमा हरेक वर्ष दोहोरिने मल अभावको समस्या सुल्झाउन यो तरल युरिया सहयोगी हुने दाबी नेपालस्थित मुख्य विक्रेता नेपाल मल्टी ट्रेड सेन्टरले गरेको छ।

ठोस युरियाको उपलब्धता कम भएकाबेला तरल युरियाले महत्वपूर्ण सहयोग गर्ने मुख्य बिक्रेताको भनाइ छ। ‘तरल युरिया देशभर सहजै उपलब्ध हुनेछ’, सेन्टरले भनेको छ, ‘ठोस युरियाको आधा हिस्सा तरल युरियाले धान्नेछ।’

नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले परीक्षणपछि प्रयोग गर्न मिल्ने सुझाव सरकारलाई दिएपछि सरकारले यो तरल युरियाको प्रयोग अनुमति दिएको हो।

नार्ककै सिफारिसका आधारमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर यो मलको प्रयोग नेपालमा खुला गरेको मल्टी ट्रेड सेन्टरले जनाएको छ।

भारतमा सफल प्रयोग भइसकेको मल ‘नानो’ नेपालमा विराटनगरस्थित नेपाल मल्टी ट्रेड सेन्टरले बजार पठाउन लागेको हो।

सोमबार प्रदेश १ को कृषि मन्त्रालयमा आयोजित एक कार्यक्रममा कृषिमन्त्री झलकबहादुर दर्लामीसहितका उच्च सरकारी अधिकारीहरूले यो मलको ‘लन्च’ गरेका छन्।

मन्त्री दर्लामीले कम्पनीले दाबी गरे अनुसारकै काम मलले गर्ने हो भने अभावको समस्या कम हुने विश्वास व्यक्त गरेका छन्।

भारतको गुजरातस्थित ुइफकोु नामक कृषि सहकारी संस्थामार्फत् भारतीय कृषि वैज्ञानिकहरूले बनाएको यो झोल युरिया त्यहाँ एक वर्षअघिदेखि प्रयोगमा आइसकेको छ।

दुई वर्षसम्म भारतका ११ हजार कृषि केन्द्रहरूमा परीक्षण गरेपछि भारत सरकारले त्यहाँ यो मल प्रयोगको अनुमति दिएको थियो।

अहिले नेपाल, श्रीलंका, नाइजेरिया लगायतका विश्वका ११ मुलुकमा यो मल बजार पुग्न लागेको जानकारी दिँदै इफकोका प्रतिनिधिहरूले इजरायलले समेत यो मलमा रूचि देखाएको सुनाए।

‘भारतमा सफल भएको मलको बिक्री अब नेपालमा हामी सुरू गर्दैछौं’, नेपाल मल्टी ट्रेड सेन्टरका प्रमुख राकेश सुरानाले भने, ‘यसले ठोस युरियाको अभाव टार्ने र किसानलाई राहत पुग्ने अपेक्षा गरेका छौं।’

नेपालमा नानोको बिक्री अनुमति पाउन डेढ वर्ष लामो प्रक्रियाबाट गुज्रनु परेको सुनाउँदै सुरानाले एक बोरा युरियाको काम आधा लिटरको एक बोतल लिक्विड युरियाले गर्ने प्रमाणित भइसकेको बताए।

उद्योग संगठन मोरङका उपाध्यक्षसमेत रहेका सुरानाका अनुसार तरल युरियाले ठोस युरियाको आवश्यकता ५० प्रतिशत कम गरिदिने जानकारी पनि दिए।

तरल युरियाको उत्पादक इफकोका कृषि प्राविधिकहरूको समेत उपस्थितिमा भएको कार्यक्रममा दिइएको जानकारी अनुसार भारतमा पहिलो वर्ष २।९ करोड बोतल खपत भएको यो मल दोस्रोपटक २।१५ करोड बोतल बजार पुगेको छ।

‘माग अझै उच्च भइरहेको छ’, कार्यक्रममा उपस्थित भारतीय कृषि प्राविधिक राजीव लोचन भने, ‘भारतमा ठोस युरियाको राम्रो विकल्प तरल युरिया भएको छ। हामी आशा गर्छौं नेपालमा पनि सोही अनुपातमा यसले ठाउँ लिनेछ।’

एक बोरा युरियाको नेपाली बजार मूल्य कम्तीमा १२ सय पर्ने उल्लेख गर्दै नेपाल मल्टी ट्रेड सेन्टरले तरल युरिया त्योभन्दा धेरै सस्तो पर्ने जनाएको छ।

‘आधा लिटरको बोतललाई नेपाली चार सय रुपैयाँ पर्छ’, सेन्टरले भनेको छ, ‘यसले एक बोरा युरिया बराबरको काम गर्नेछ।’ कृषि प्राविधिक लोचनका अनुसार नानो नामक तरल युरिया पानीमा घोलेर कुनै पनि बालीको पातमा पर्नेगरी छर्कनुपर्छ।

ठोस युरिया प्रयोग गरिने जुनसुकै बालीमा तरल युरिया प्रयोग गर्न सकिने उनले बताएका छन्। लोचनका अनुसार कुनै पनि बाली लगाएको ३० या ३५ दिन चाहिँ हुनुपर्ने छ।

‘धान रोप्दा सुरूमा ठोस युरिया नै उपयोग गर्नुपर्छ’, उनले भने, ‘तर तीस दिनपछि धानको पात राम्ररी विकास भइसकेको हुने हुनाले नानो प्रयोग गर्न सकिन्छ।’

पहिलोपटक ठोस प्रयोग गरेपछि दोस्रोपटकदेखि ठोस युरिया आवश्यक नपर्ने उनको भनाइ छ।

‘वनस्पतिको पोषण तत्व पातबाट पूरा हुने हो’, उनले थपे, ‘त्यसैले धान मकै, गहुँ जेको पनि पात विकसित भएपछि यो मल प्रयोग गर्न सकिन्छ।’

उनका अनुसार धान, मकै वा अन्य बालीको फूल खेल्नुभन्दा एक साताअघि नै यो मल प्रयोग गर्नुपर्दछ। फूल विकसित भइसकेपछि भने यसको प्रयोग गर्न नहुने प्राविधिकहरूले बताएका छन्। एक लिटर तरल युरिया दुई सय लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्ने उनको भनाइ छ।

कुनै पनि वनस्पतिका लागि नाइट्रोजन अत्यावश्यक तत्व हो। युरिया मलबाट नाइट्रोजनको आवश्यकता पूरा गरिन्छ। बालीनालीको हरियोपन बढाउन, बालीको राम्रो हुर्काइमा सघाउन युरिया सहयोगी हुने गरेको छ।

इफको नानो युरिया झोलको प्रयोगले बालीको उत्पादकत्व बढाउने, उत्पादनको पोषक तत्वमा वृद्धि गर्ने, पारम्परिक युरियाको आवश्यकतालाई ५० प्रतिशत कम गर्ने, उत्पादनको गुणस्तर बढाउने लगायतका फाइदा हुने उत्पादक पक्षको दाबी छ।

सेतोपाटीबाट साभार

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *