ताप्लेजुङमा पहिरोले ८ घर बगायो
Published:
by .ताप्लेजुङ । ताप्लेजुङमा ८ वटा घर पहिरोेले बगाएको छ । निरन्तर वर्षा भएसँगै गएको पहिरोले ८ वटा घर बगाएको हो । गएको बिहीवारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरीजङ्घा गाउँपालिका–६ मामाङ्खे गाउँमा २ र वडा नं ७ खेवाङ गाउँमा १गरी ३ घर पहिरोले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेका समितिले जनाएको छ ।
विस्थापित परिवार अहिले सुरक्षित ठाउँमा रहेको विद्यालयमा बस्दै आएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिए । गएको शुक्रवार सिरीजङ्घामा पहिरोमा परि २ जनाको ज्यान गएको थियो । त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर पहिरोले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।
फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा २ घर पहिरोले बगाएको छ । ३० घरपरिवार विस्थापित भएका फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए । उनका अुनसार जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित ठाउँमा जानका लागि आवश्यक सामग्रीसमेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ । केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ ।
निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिम छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
Comments