Sajhamanch Archive

मूल्यवृद्धि पछि पनि आयल निगम मासिक ४ अर्ब ७० करोड घाटामा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार by .

झापा । गए राति १२ बजेदेखि इन्धनको मूल्यमा भारी वृद्धि गरेको नेपाल आयल निगमले अझै पनि ठुलो घाटा रहेको जनाएको छ ।

बढेको मूल्यअनुसार पनि निगमले आउँदो एक महिनामा कुल ४ अर्ब ७० करोड नोक्सानी रहने अनुमान गरेको छ । योमध्ये खाना पकाउने एलपी ग्यासबाट सबैभन्दा धेरै २ अर्ब २८ करोड नोक्सानी पर्ने निगमले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

खाना पकाउने ग्यासमा हाल प्रतिसिलिन्डर ७५१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । त्यस्तै अब पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा नोक्सानी रहेको निगमको भनाइ छ ।

मट्टितेलमा प्रतिलिटर ४३ रुपैयाँ तथा हवाई इन्धनमा (आन्तरिक) १३ रुपैयाँ ६१ पैसा र बाह्य हवाई इन्धनमा ५६ रुपैयाँ ६७ पैसा नाफा छ । निगमले पेट्रोलियम पदार्थको खपत सकेसम्म कम गर्न पनि आग्रह गरेको छ ।

गए राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *