नेपालमा पेट्रोलको मूल्य दक्षिण एसियामै सबैभन्दा महँगो
Published: (Updated: )
by .झापा । नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महँगो भएको छ । नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९९ रुपैयाँ ९१.५९ डलर र डिजेल प्रतिलिटर १ सय ९२ रुपैयाँ ९१.५३ डलर पुर्याएको छ । पेट्रोलियम महँगो बेच्नेमा नेपाल एसियामा २८ औँ र विश्वमा ८२ औँ स्थानमा छ ।
दक्षिण एसियामा नेपालपछि भुटानमा पेट्रोलियम महँगो छ । त्यहाँ पेट्रोल प्रतिलिटर १.३८ डलर र डिजेल १.२१ डलर छ । भुटानको भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २६ रुपैयाँ र डिजेल ४० रुपैयाँ महँगो छ । श्रीलंकामा पेट्रोल प्रतिलिटर १.२६ डलर (१ सय ५८ रुपैयाँ) र डिजेल १.१२ डलर (१ सय ४० रुपैयाँ) छ । त्यस्तै, पाकिस्तानमा पेट्रोल प्रतिलिटर १.११ डलर (१ सय ३९ रुपैयाँ) र डिजेल १.२५ डलर (१ सय ५७ रुपैयाँ) छ ।
केही दिन अघिसम्म नेपालको भन्दा महँगो मूल्य रहेको भारत पनि अहिले चौथो नम्बरमा छ । नयाँदिल्लीमा पेट्रोल प्रतिलिटर १.२४ डलर (१ सय ५६ रुपैयाँ) र डिजेल १.१५ डलर (१ सय ४४ रुपैयाँ) पुगेको छ ।
दक्षिण एसियामा माल्दिभ्समा पेट्रोलियमको भाउ सबैभन्दा सस्तो छ । माल्दिभ्समा अहिले पेट्रोल प्रतिलिटर ०.९५ डलर (१ सय १९ रुपैयाँ) र डिजेल ०.९६४ डलर (१ सय २१ रुपैयाँ) कायम छ । बंगलादेशमा प्रतिलिटर ०.९५ डलर (१ सय १९ रुपैयाँ) र डिजेल ०.८५२ डलर (१ सय सात रुपैयाँ) कायम छ । त्यस्तै, अफगानिस्तानमा ०.९५५ डलर (१ सय २० रुपैयाँ) र डिजेल १.१२४ डलर (१ सय ४१ रुपैयाँ) कायम छ ।
पेट्रोलियम पदार्थ महँगोमा बेच्नेमा नेपाल एसियामा २८औँ र विश्वमा ८२ औँ स्थानमा छ । विश्वमा पेट्रोलको औसत मूल्य प्रतिलिटर १ सय ८० र डिजेल १ सय ७२ रुपैयाँ हाराहारी छ ।
Comments