शिवसताक्षीमा ४ वटा वडाका ३३ जनालाई प्रविधि हस्तान्तरण
Published:
by .शिवसताक्षी । उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात, सुरक्षित भविष्यको आधार सीपबाट स्वरोजगार भन्ने नाराका साथ शिवसताक्षी नगरपालिकाका ४ वडाका ३३ जनालाई प्रविधि हस्तन्तरण गरिएको छ ।
शिवसताक्षी नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नं. २, ५,६ र ८ का विपन्न परिवारका सदस्यलाई प्रविधि हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की र वडा नं. ८ अध्यक्ष सन्त फेवदिनले मेसिन हस्तान्तरण गरेका थिए ।
नगरपालिकाले नगरको वडा नं. ८ को कार्यालयमा एक कार्यक्रम गरी सीप मुलक सिलाई कटिङ्ग तालिममा सहभागीहरुलाई सिलाई (बडी) मेसिन हस्तान्तरण वडा विपन्न परिवारका सदस्यहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ आफुले सिकेको सीपलाई व्यवहारमा लागु गर्दै आय आर्जनमा बृद्धि गर्न प्रविधि समेत हस्तान्तरण गरिएको शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले बताए । उनका अनुसार नगरले सिलाई कटिङ्ग, बाख्रा पालन, व्यटीपार्लर, कुखुरा पालन, तरकारी खेती सम्वन्धी तालिमहरु गराउँदै आएको छ ।
कार्यक्रममा उपप्रमुख कार्कीले सीप सिक्ने सदस्यहरुलाई आफुले सिकेको सीपलाई व्यवहारमा उतार्दै आय आर्जन गर्न सुझाब दिइन् । महिलाहरुले पनि पुरुष जस्तै प्रविधिको ज्ञान, सीप लिई स्वभालम्बी बन्न सक्नु पर्ने उनको भनाई थियो ।
वडा न ८ का वडाध्यक्ष सन्त फेवदिनले देशमा लोकतन्त्र आएपछि मात्र लक्षित वर्ग, विपन्न परिवारले पनि यसरी बाहिर निस्केर सीप आर्जन गरी स्वभलम्बी बन्ने अवसर पाएको बताए । उनीहरुलाई आफुले पाएको अवसरलाई भरपुर सदुपयोग गर्न समेत सुझाए ।
शिवसताक्षी नगरपाकिाले गत आवमा सिलाई कटिङ्ग तालिम गराएका २० महिलाहरुलाई सिलाई कटिङ्गको सीटिइभिटीमा मान्यता प्राप्त सीप परीक्षणमा पनि सहभागी गराएको थियो । हाल सोको नतिजा आउन बाँकी रहेको अधिकृत लामिछानेले जानकारी दिए ।
नगरले ४ लाख २९ हजार बराबरको विपन्न परिवार सिलाई कटिङ्ग तालिममा सहभागीता जनाउने ४ वटा वडाका ३३ जनालाई प्रविधि हस्तान्तरण गरेको थियो ।
Comments